वीरगञ्ज/काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सचिव महेश बस्नेतले आगामी निर्वाचनलाई लक्षित गर्दै देश र लोकतन्त्रविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको आरोप लगाएका छन। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कडा टिप्पणीमा केही शक्तिहरू देश बनाउने एजेन्डा नभई देशलाई कमजोर बनाउने योजनासहित राजनीतिमा सक्रिय भएको बताएका छन।
बस्नेतले लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू अहिले सक्रिय रहेको उल्लेख गरेका छन। उनका अनुसार ती शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्ने उद्देश्यले होइन, अल्गोरिदमको खरिद–बिक्रीमार्फत जनमत प्रभावित पार्दै सत्ता कब्जा गर्ने रणनीतिसहित राजनीतिमा प्रवेश गरेका हुन।
उनले साइबर फ्याक्ट्रीबाट उत्पादित आवाजहरू जनताको वास्तविक आवाज नभएको दाबी गर्दै भ्रम, झुट र सूचना हेरफेरमार्फत जनमत कब्जा गर्ने प्रयास अत्यन्त खतरनाक रहेको बताए। “यो लोकतन्त्रका लागि गम्भीर चुनौती हो,” बस्नेतको टिप्पणी छ।
साथै, उनले यस्ता प्रवृत्तिबाट सजग रहन आम नागरिकलाई आग्रह गर्दै अल्गोरिदममार्फत देश कब्जा गर्न खोज्ने शक्तिबाट लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउनुपर्नेमा जोड दिएका छन।
महेश बस्नेतको यो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

प्रतिक्रिया