वीरगञ्ज- पर्सा जिल्लाका निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दर्ता सम्पन्न भएसँगै चुनावी माहोल तातेको छ। यसपटकको निर्वाचनमा मुख्य दलका परिचित अनुहारसँगै नयाँ अनुहार र स्वतन्त्र उम्मेदवारको उल्लेखनीय उपस्थितिले प्रतिस्पर्धा थप बहुआयामिक बनेको छ।
मुख्य निर्वाचन कार्यालय पर्साका प्रवक्ता यादवप्रसाद जोशीका अनुसार चार सिटका लागि एक सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन। सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नम्बर–२ मा परेको छ भने सबैभन्दा कम क्षेत्र नम्बर–३ मा देखिएको छ।
निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर–१ मा ३०, क्षेत्र नम्बर–२ मा ३२, क्षेत्र नम्बर–३ मा २३ र क्षेत्र नम्बर–४ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ।
यसपटक कांग्रेस, एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राप्रपा, उज्यालो नेपाल, श्रम संस्कृति पार्टीलगायत विभिन्न राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारको उल्लेखनीय सहभागिता देखिएको छ। यसले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।
क्षेत्रगत प्रतिस्पर्धा
क्षेत्र नम्बर–१ मा कांग्रेसका अनिलकुमार रुंग्टा, एमालेका प्रदीप यादव, जसपा नेपालका रामनरेश यादव, रास्वपाका हरि पन्त, जनमतका ओमप्रकाश सर्राफ र नेकपाका अजय चौरसिया प्रमुख दाबेदारका रूपमा देखिएका छन।
क्षेत्र नम्बर–२ मा कांग्रेसका पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेकी रिमा यादव, जसपा नेपालका अशोक टेमानी, रास्वपाका सुशिल साह कानु, जनमतका श्याम गुप्ता र नेकपाका मनोज चौधरी चुनावी प्रतिस्पर्धामा छन।
क्षेत्र नम्बर–३ मा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, एमालेका रुपेश पाण्डे, जसपा नेपालका कमोद निराला, नेकपाका छोटेलाल यादव, रास्वपाका रामाकान्त चौरसिया र जनमतकी माल्ती कुशवाहा प्रमुख उम्मेदवार हुन।
त्यसैगरी क्षेत्र नम्बर–४ मा कांग्रेसका पूर्वमन्त्री रमेश रिजाल, एमालेका जालिम मियाँ अन्सारी, रास्वपाका टेकबहादुर शाक्य, जसपा नेपालका कृपासिन्धु चौधरी र जनमतकी सिमादेवी कलवारबीच मुख्य प्रतिस्पर्धा रहने देखिएको छ।
चारै निर्वाचन क्षेत्रमा परम्परागत दलका बलिया उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारको सक्रियताले मत विभाजन हुने अनुमान गरिएको छ। यसले चुनावी परिणाम पूर्वानुमान गर्न कठिन बनाएको देखिन्छ।
स्थानीय विकास, रोजगारी, सुशासन र मधेसका मुद्दा मुख्य बहसको केन्द्रमा रहने देखिएको छ। मतदातामा बढ्दो चासो र उम्मेदवारबीचको तीव्र प्रतिस्पर्धाले पर्साको निर्वाचन यसपटक निकै रोचक र निर्णायक बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया