वीरगञ्ज- वीरगञ्ज महानगरपालिका–६ मा अवस्थित श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा शुक्रबार नगरसभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। “सबैका लागि श्रीनिधि सहकारी” भन्ने मूल नाराका साथ आयोजित साधारण सभा संस्थाका अध्यक्ष प्रेम चुडामणि बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको हो।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा नीति–कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले संस्थाको कुल कारोबार ८८ करोड ८२ लाख २७ हजार रुपैयाँ पुगेको जानकारी दिनुभयो।
उहाँका अनुसार संस्थाको सेयर पुँजी ३ करोड ३१ लाख ६५ हजार रुपैयाँ, कुल बचत ७२ करोड ६३ लाख ५ हजार रुपैयाँ, तथा विभिन्न जगेडा कोषमा ४ करोड ७२ लाख ८९ हजार रुपैयाँ संकलन गर्न संस्था सफल भएको छ।
त्यसैगरी चालु आर्थिक वर्षमा संस्थाको कर्जा लगानी ६० करोड ५८ लाख ६६ हजार ५०० रुपैयाँ, कर अघिको नाफा १ करोड ३१ लाख १३ हजार ५०० रुपैयाँ, तथा स्थिर सम्पत्ति ४ करोड ६९ लाख ४६ हजार ९५० रुपैयाँ रहेको जानकारी दिनुभयो।
प्रमुख कार्यकारी अधिकृत चौरसियाले संस्थाको कार्यालय प्रयोजनका लागि आदर्शनगरस्थित जग्गा संस्थाको नाममा खरिद भइसकेको र छिट्टै भवन निर्माण कार्य सुरु हुने जानकारी पनि गराउनुभयो। साथै, संस्थाले मोबाइल बैंकिङ, एसएमएस सेवा, मोबाइल टप–अपलगायत प्रविधिमैत्री सेवाहरू सञ्चालनमा ल्याई सेवा विस्तार र गुणस्तरमा सुधार गर्दै गएको उल्लेख गर्नुभयो।
वार्षिक साधारण सभाका अवसरमा उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट बचतकर्ताहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मनोज प्रसाद, सचिव निर्मला देवी चौरसिया, कोषाध्यक्ष ओमप्रकाश कलवार, अधिकृत महेश कुमार सहनी, हिरालाल चौरसिया, विमल सिमरिया, मधु चौधरी, कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख जिष्णु बराल, राष्ट्रिय सहकारी बैंकका सञ्जयकुमार महतो तथा विभिन्न सहकारी संस्थाका सञ्चालक, प्रतिनिधि र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य योगेश्वर प्रसाद चौरसियाले गरेका थिए,भने कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गर्नुभएको थियो।

प्रतिक्रिया