काठमाडौं- नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजन लोकतन्त्र माथिको प्रहार भएकाे बताउनुभएकाे छ ।
उहाँले नेपाली कांग्रेसलाई कमजोर बनाउने योजनामा प्रधानमन्त्री सुशीला कार्की र केही अन्तर्राष्ट्रिय शक्तिहरू संलग्न रहेको दाबी गर्नुभयाे । शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानून विपरीत निर्णय गरेको दाबी गर्नुभयाे । उहाँले आयोगको उक्त निर्णयलाई कांग्रेस र एमालेजस्ता ठूला दलमाथिको प्रहारका रूपमा आफ्नो पार्टीले लिएको बताउनुभयाे ।
बस्नेतका अनुसार निर्वाचन आयोगले ‘सेटिङ’का आधारमा छोटो समयमै गरेको निर्णयले राजनीतिक अस्थिरता बढाउने काम गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आयोगको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उठाएका प्रश्नमा एमालेको पनि समर्थन रहेको प्रष्ट पार्नुभयाे । ‘जुन ढंगले एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले निर्णय गर्यो, त्यो बेठिक हो भन्ने देउवाजीको भनाइमा हाम्रो पनि समर्थन छ’, उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री कार्की र केही अन्तर्राष्ट्रिय शक्तिहरूले कांग्रेसलाई विभाजन गरी रवि लामिछानेजस्ता व्यक्तिलाई बलियो बनाउने ‘कुकर्म’ गरिरहेको बस्नेतकाे भनाइ छ । कांग्रेस र एमालेजस्ता स्थापित राजनीतिक शक्तिलाई कमजोर बनाउने प्रयास गम्भीर र चिन्ताजनक भएको उहाँको भनाइ छ । ‘कांग्रेस र एमाले कमजोर हुँदा लोकतान्त्रिक प्रणाली नै कमजोर हुन्छ, यसलाई हामीले अत्यन्त गम्भीर रूपमा लिएका छौँ’, उहाँले भन्नुभयाे ।

प्रतिक्रिया