मधेस प्रदेशको शिक्षा, स्वास्थ्यलगायत विभिन्न विकास परियोजनामा भारत सरकारले अढाई अर्ब रुपैयाँभन्दा बढीको अनुदान उपलब्ध गराएको छ ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्जबाट प्राप्त तथ्यांकअनुसार हालसम्म मधेस प्रदेशमा भारत सरकारद्वारा ८६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना स्वीकृत भइसकेका छन् ।
प्रत्येक परियोजनामा ३ करोडदेखि ३ करोड ५० लाख रुपैयाँसम्मको लागत रहेको र समग्रमा २ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रकम लगानी भएको दूतावासले जनाएको छ । स्वीकृत परियोजनामध्ये ६१ वटा सम्पन्न भइसकेका छन् भने २५ वटा परियोजनाको काम हाल सञ्चालनमै रहेका छन् ।
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी ५२ वटा परियोजना शिक्षा क्षेत्रमा रहेका छन् । त्यसैगरी स्वास्थ्य क्षेत्रमा ६ वटा, सडक तथा पुल निर्माणका ८ वटा, नदी बाँध निर्माणको १ वटा, सिँचाइका २ वटा र संस्कृति क्षेत्रसँग सम्बन्धित ३ वटा परियोजना रहेका छन् । यस्तै, ५ वटा विद्युत्तीकरण र ९ वटा मिश्रित प्रकृतिका परियोजना पनि सञ्चालनमा छन् ।
जिल्लागत रूपमा धनुषा जिल्लामा सबैभन्दा बढी २१ वटा भारतीय सहयोगका परियोजना सञ्चालनमा रहेका छन् । तीमध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने ८ वटा परियोजनामा काम जारी रहेको छ ।
भारत–नेपाल विकास सहयोग तथा साझेदारीअन्तर्गत सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाले नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरू—विद्यालय, कलेज, अस्पताल, पानी निकासी व्यवस्था, नदी बाँध निर्माणलगायत संरचना विकासमा योगदान पुर्याइरहेको भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीणाले बताएका छन् । “यी सबै परियोजना नेपाल सरकारसँग सहकार्यमा स्थानीय बासिन्दाको जीवनस्तर सुधार र समग्र विकासका लागि कार्यान्वयनमा ल्याइएका हुन्,” उनले भने, “स्थानीय समुदायको जीवन पद्धति उत्थानमा नेपाल सरकारको प्रयासलाई मजबुत बनाउनु नै यस परियोजनाको मुख्य उद्देश्य हो ।”
यसैबिच, शुक्रवार धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकाको तुल्सीयाहीस्थित बैधनाथ देव नारायण सामुदायिक विद्यालयमा भारत सरकारको ३ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न नयाँ भवनको उद्घाटन गरिएको छ । नव–निर्मित भवनमा ३७ वटा कक्षाकोठा, केमेस्ट्री, फिजिक्स र कम्प्युटर प्रयोगशाला, पुस्तकालय, स्टाफ रुम, कार्यालय तथा शौचालयको व्यवस्था गरिएको छ ।
मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले भारत सरकारको सहयोगले सामुदायिक विद्यालयको भौतिक संरचना व्यवस्थित बनेको उल्लेख गर्दै कम आय भएका परिवारका बालबालिकाका लागि शिक्षामा पहुँच बढ्ने विश्वास व्यक्त गरे । “हाम्रो पालिकामा अन्य विद्यालय भवनहरू पनि भारत सरकारकै सहयोगमा निर्माण भएका छन्,” उनले भने, “यो सहयोग र साझेदारी निरन्तर रहोस् भन्ने हाम्रो चाहना छ ।”
यसका अतिरिक्त भारत सरकारले हालसम्म नेपाललाई १ हजार ४९ वटा एम्बुलेन्स र ३८१ वटा स्कुल बस सहयोग स्वरूप उपलब्ध गराइसकेको छ । तीमध्ये मधेस प्रदेशमा मात्रै २३२ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस प्रदान गरिएको दूतावासले जनाएको छ । साभार: मनिका झा अन्नपूर्णापोस्ट
प्रतिक्रिया