समाजवादी युवा संघ नेपाल, वीरगञ्ज महानगर समिति गठन भएको छ। सोमबार सम्पन्न भेलाले आकाश पटेलको अध्यक्षतामा ३१ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा गठन गरेको हो।
भेलामा नवगठित समितिले संगठनलाई जरा–तहसम्म विस्तार गर्दै युवालाई वैचारिक, संगठनात्मक तथा सामाजिक अभियानमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनले युवालाई समाजवादी विचारधारासँग जोड्दै समावेशी, न्यायपूर्ण र लोकतान्त्रिक समाज निर्माणमा अग्रसर गराउने लक्ष्य लिएको बताइएको छ।
कार्यक्रममा वक्ताहरूले समाजवादी विचारधारालाई युवामाझ अझ मजबुत बनाउन संगठनात्मक एकता, अनुशासन र सक्रिय सहभागिता अनिवार्य रहेकोमा जोड दिएका थिए। नवगठित समितिले बेरोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा लोकतान्त्रिक अधिकारका सवालमा युवाको आवाज सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरेको छ।
समितिको गठनसँगै वीरगञ्ज महानगर क्षेत्रमा समाजवादी युवा संघको संगठनात्मक आधार अझ सुदृढ हुने नेताहरूको धारणा रहेको छ। कार्यक्रममा नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै सबै पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गरिएको थियो।
कार्यक्रममा समाजवादी युवा संघकी केन्द्रीय सचिव करिमा बेगम, रेखा साह, बिधार्थी युनियनका केन्द्रीय अध्यक्ष ओम यादव (मनीष) , पार्टीका जिल्ला समिति सदस्य एम।डी। अली, वीरगञ्ज महानगर समितिका अध्यक्ष घनश्याम बाबु गुप्ता, उप–सचिव जलालुद्दीन अन्सारी, नगर सदस्य अञ्जु चौरसिया, प्रिया मिश्र, संघका केन्द्रीय सदस्य दाउद, प्रेम पटेल, वकिल यादव लगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया