वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मदरसा शिक्षा बोर्डलाई स्वीकृति प्रदान गरी शिक्षा मन्त्रालयमा पठाएको निर्णयको विरोधमा विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्जले आज बृहत् विरोध प्रदर्शन गरेको छ।
घन्टाघर क्षेत्रमा आयोजित कार्यक्रममार्फत परिषद्ले मशाल जुलुस निकाली मुख्यमन्त्री यादवको पुत्ला दहन गरेको हो। प्रदर्शनमा सहभागीहरूले उक्त निर्णय धार्मिक विभाजन निम्त्याउने दाबी गर्दै तत्काल खारेज गर्न माग गरेका थिए।
विरोध सभामा वक्ताहरूले मदरसा शिक्षा बोर्डको प्रस्ताव प्रदेश सरकारको आतुरता र नियतप्रति शंका पैदा गर्ने बताए। उनीहरूले शिक्षालाई धार्मिक आधारमा विभाजित गर्ने प्रयास गलत भएको उल्लेख गर्दै प्रदेश सरकारलाई निर्णय फिर्ता लिन चेतावनी दिएका छन्।
मशाल जुलुसमा परिषद्का पदाधिकारी, स्थानीयवासी तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया