मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार प्रदेश सभामा भावनात्मक तर मजबुत सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका छन्।
विश्वासको मतका लागि बोलाइएको बैठक सात दलले बहिष्कार गरेपछि मुख्यमन्त्री यादवले “आँखा जुधाएर बस्न नसक्ने भएकैले विपक्षीहरू सदनमा आएनन्” भन्दै तीव्र आक्रोशसहित राजीनामा सार्वजनिक गरेका हुन्।
यादवले सम्बोधनका क्रममा विपक्षी दलहरू सभाहलमा उपस्थित नहुनुको कारण एमालेले सबै दललाई ‘गुन लगाएको’ र अहिले त्यो ऋण तिर्नुपर्ने अवस्था आएको बताए।
“जनमत, जसपा नेपाल, कांग्रेस सबैलाई लगाइएको ऋण फिर्ता गर्ने बेला आएको छ, तर त्यही लाजले तपाईंहरू सभाहलभित्र आउन सक्नु भएन ,” उनले कठोर शब्दमा आरोप लगाए।
सात दलको बहिष्कारबीच तीन दल मात्र उपस्थित रहेको बैठकमा मुख्यमन्त्री यादवले खाली कुर्सीहरूसँग विश्वासको मत माग्न नसक्ने स्पष्ट घोषणा गरे।
“कुर्सीसँग विश्वासको मत माग्दिन ,” उनले भने, “सांसदहरूको आँखा जुध्ने सामर्थ्य भए यहाँ बस्नुहुन्थ्यो। उहाँहरू बस्नु भएन, त्यसकारण म आजै राजीनामा दिन्छु।”
राजीनामा घोषणा गर्नुअघि उनले २२ दिनको कार्यकालमा गरेका कामकारबाहीबारे पनि विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
यादवको राजीनामासँगै मधेस प्रदेश पुनः राजनीतिक अस्थिरताको मोडमा प्रवेश गरेको छ भने नयाँ सत्ता समीकरणका लागि दलहरूबीचको कसरत तीव्र हुने अनुमान गरिएको छ।

प्रतिक्रिया