सत्ता र शक्तिको आडमा अपराधीलाई जोगाउने प्रवृत्ति मधेशमा नौलो नभए पनि यसपटकको घटना झन गम्भीर र संवेदनशील बनेको छ । उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीमाथि आफ्नै छोरालाई जोगाउन एक गरिब मजदुरको लासमाथि राजनीति सुरु गरेको गम्भीर आरोप लागेको छ ।
बुधबार जितपुर–सिमरा उपमहानगरपालिकाको ‘केरा ढोका’ नजिक अशोक टेमानीका छोरा यश अग्रवाल ९टेमानी० ले चलाएको विलासी कारको ठक्करबाट एक गरिब मजदुरको ज्यान गएको थियो । यश अग्रवाल (टेमानी) ले चलाइरहेका बा ०१–०३३ च २४८१ नम्बरको कारले ठक्कर दिँदा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ निवासी ४५ वर्षीय रामबालक सहनी गम्भीर घाइते भएका थिए । सहनीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शी र प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाका बेला कार यश अग्रवाल (टेमानी) ले नै चलाइरहेका थिए ।
प्रहरीको स्पष्ट पुष्टि,‘यश नै चालक: घटनालाई तोडमोड गर्न र छोरालाई बचाउन अशोक टेमानीले केही सञ्चारमाध्यममार्फत ‘गाडी चालकले चलाएको’ भनेर भ्रम फैलाउन खोजेको आरोप लागे पनि प्रहरीले त्यसको स्पष्ट खण्डन गरेको छ । जितपुर–सिमरा ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिवाकर बनेतले भने “गाडी यश टेमानीले नै चलाएको पुष्टि भइसकेको छ । उनले प्रहरी बयानमा समेत स्वीकार गरेका छन। गाडीमा उनीसँगै अन्य तीन जना पनि सवार थिए । अनुसन्धान प्रमाणका आधारमा निष्पक्ष रूपमा भइरहेको बताए।
प्रहरीका अनुसार घटनामा कुनै तलमाथि नहुने गरी अनुसन्धान अघि बढाइएको छ ।
यता आफ्नो घरको एकमात्र कमाउने सदस्य गुमाएको रामबालक सहनीको परिवार यतिबेला शोक र पीडामा डुबेको छ । तर, न्यायको साटो पैसा र पहुँचको बलमा अपराधीलाई जोगाउन मिडिया ट्रायल गरिएको भन्दै पीडित परिवार आक्रोशित बनेको छ । “अशोक टेमानीले आफ्ना छोरालाई जोगाउन झुठा अफवाह फैलाइरहेको पीडित परिवारको भनाइ छ। एउटा गरिबको लासमाथि मिडिया प्रयोग गरेर न्याय दबाउने प्रयास अमानवीयताको पराकाष्ठा हो । ”पीडित पक्षका अनुसार प्रहरी अनुसन्धानलाई समेत प्रभावित पार्ने उद्देश्यले ‘चालकले गाडी चलाएको’ भन्ने झुटो कथा फैलाइँदैछ, जुन मृतक परिवारमाथिको थप अन्याय हो ।
यता छोराको संलग्नतामा भएको सवारी ज्यानसम्बन्धी घटनाबारे प्रतिक्रिया लिन खोज्दा अशोक टेमानी सम्पर्कविहीन देखिएका छन् । पटक–पटक फोन गर्दा समेत उनको कुनै प्रतिक्रिया आएको छैनन।
यसले उनी पर्दा पछाडि बसेर घटनालाई सामसुम पार्ने प्रयासमा लागेको आशंका झन् बलियो बनेको छ ।
प्रहरीका अनुसार बुधबार साँझसम्म पीडित पक्षबाट औपचारिक जाहेरी दर्ता भइसकेको छैन । जाहेरी दर्ता हुनासाथ कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
शक्तिशाली व्यवसायीको छोराले गरेको गल्ती ढाकछोप गरिन्छ? कि कानुनी राज्यको सिद्धान्तअनुसार दोषीलाई कारबाही हुन्छ, भने प्रश्न उठन थालेको छ।

प्रतिक्रिया