काठमाडौं: कांग्रेसको सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता महाधिवेशन गर्नका लागि कार्यतालिका पेस गर्दै छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते हस्ताक्षर बुझाएका थिए। उक्त मितिले ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ। ३ महिना पुस २८ गते पुग्दै छ। त्यसैले उक्त अवधि भित्रै नियमित महाधिवेशन गर्ने गरी सोमबारको केन्द्रीय समिति बैठकबाट कार्यतालिका ल्याउने तयारीमा कार्यवाहक सभापति खड्का छन्।
पार्टी सभापति शेरबहादुर देउवाको सक्रियता र समन्वयमा संस्थापन पक्ष पुस अन्तिम साता नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको हो। सहमति जुटाउन सभापति देउवा निकै सक्रिय बने। उनले संस्थापन पक्ष र इतर पक्ष सबैको धारणा सुनिसकेपछि मात्र पुस महिनाको अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने माहोल मिलाएका हुन्।
देउवाले पुस महिनाभित्रै महाधिवेशन गर्ने गरी मध्यमार्गी बाटो निकालेका हुन्। देउवाको यो प्रयासमा अर्का नेता रमेश लेखक लागिपरेका थिए। लेखकले मुख्यतया महामन्त्रीद्वय, डा। शेखर कोइराला र विशेष महाधिवेशन माग गर्नेलाई मध्यमार्गीको बाटोमा ल्याउने सहमति जुटाएका हुन्। तर, विशेष पक्षधर भने सहमतिमा आइसकेको छैन। विधानतः विशेष महाधिवेशनको माग टर्ने अवस्था नभएपछि देउवाले आइतबारको बैठकमा पुस महिनाभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन कार्यवाहक सभापति खड्कालाई निर्देशन दिइसकेका छन्। ‘उहाँ ९देउवा० नियमित महाधिवेशनबाटै बिदा हुन चाहनुभएको छ,’ देउवा निकट एक नेताले भने, ‘विशेष महाधिवेशनको लाइनमा जानु हुँदैन भन्ने उहाँको तर्क थियो। अब पुसको महाधिवेशनको तयारीमा सबैलाई लाग्न निर्देशन दिनुभएको छ।’
असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक महाधिवेशन तिथिमिति तय गर्न नसक्दा पटक–पटक स्थगित हुँदै आएको छ। सभापति देउवा, कार्यवाहक सभापति खड्का र नेता लेखकले केही समयदेखि समन्वयकारी भूमिका निर्वाह गर्दै आएका थिए।
यसैबीचमा फागुन २१ को चुनावभन्दा अघि नै महाधिवेशन गर्ने गरी मिति प्रस्तावमा सहमति जुटेको प्रवक्ता प्रकाशशरण महतले बताए। उनले भने, ‘पुसभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका सोमबारको बैठकमा प्रस्ताव हुन्छ।
यो मितिमा सबै साथिहरूको चित्त बुझ्छ भन्ने लाग्छ। विशेषको माग गर्ने साथीहरूसँग पनि अनौपचारिक छलफल भइराखेको छ। ढिलो चाँडो उहाँहरू पनि सहमतिमा जुट्नुहुन्छ।’
शनिबारको पदाधिकारी तथा पूर्वपदाधिकारीसँगकाधे बैठकमै देउवाले महाधिवेशनको मिति प्रस्ताव गरेका थिए। देउवाको प्रस्तावमा पूर्वपदाधिकारीद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले तीव्र विरोध जनाएपछि आइतबार तय भएको केन्द्रीय समितिको बैठक सारिएको थियो। उनीहरूको अडान यथावत् नै छ। सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको महाधिवेशन मितिको प्रस्ताव केन्द्रीय समितिबाट बहुमतले पारित गर्ने निर्णय गर्नुपर्छ भनेर आइतबारको बैठकबाट निष्कर्ष निकालेका छन्।
निर्वाचन पछि मात्रै महाधिवेशन गर्नुपर्छ भन्ने अडान लिएका एक केन्द्रीय सदस्यले भने, ‘कार्यवाहक सभापतिले वैशाखमा महाधिवेशन गर्ने भन्ने पक्षसँग परामर्श नगरी अर्को मितिको प्रस्ताव ल्याए हाम्रो सहमति हुँदैन। सहमहामन्त्रीको प्रस्ताव नै हाम्रो लाइन हो। त्यो पाटीको हितमा छ।’
यसअघि महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए। सहमहामन्त्री यादवले थापाको प्रस्तावको काउन्टरमा वैशाख २७ देखि २९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गरेका थिए।
अब केन्द्रीय समितिको बैठकमा सहमति जुटे पुस २६ देखि २९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन गर्ने तयारी छ। महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशनका विषयमा मोटामोटी सहमति जुटेको बताए। उनले भने, ‘पुसको अन्तिम साता महाधिवेशन गर्ने प्रस्तावमा मोटामोटी सहमति जुटेको छ। त्यसमा असन्तुष्ट पक्षहरूलाई पनि सहमतिमा आउनुभयो भने यो प्रस्तावमा सोमबारको बैठकमा छलफल हुन्छ।
अहिलेनै सहमति जुट्यो भन्न मिल्दैन। महाधिवेशनको मितिका विषयमा बैठकमा छलफल हुन्छ। केन्द्रीय समिति बैठकले पारित गर्यो भने पुसको अन्तिम साताको समय भनिएको हो।’
अर्का थापाले भने, ‘केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति के प्रस्ताव गरिन्छ त्यहीअनुसार बैठकमा छलफल हुने बताए। ‘शनिबारको बैठकमा सभापतिजीले राखेको प्रस्ताव पुस अन्तिम साता भनिएको हो, यद्यपि यसमा सहमति भएको कुरा हैन,’ थापाले भने, ‘यो मितिको प्रस्ताव बैठकमा लैजाउँ त्यसपछि साथीहरूबाट के कस्तो प्रतिक्रिया आउँछ अनि निष्कर्षमा जान्छौं।’ नियमित महाधिवेशन भन्दैमा विशेषको हस्ताक्षर फिर्ता नहुने थापाले अडान राखे। ‘महाधिवेशन निर्वाचन अगाडि हुन्छ नै,’ थापाले भने, ‘यो विषयमा सभापतिजिले नै सबैको सहमतिमा महाधिवेशन गरौं भनेपछि हामीलाई आपत्ति हुने कुरै भएन। महाधिवेशन सुनिश्चित हुने प्रस्ताव आए हाम्रो सहमति हुन्छ।’
सभापति निकट अर्का एक नेताले विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर फिर्ता नगराई पुसको अन्तिम साताको प्रस्ताव गरिने बताए। ‘सभापतिजी अब कुनै जिम्मेवारीमा बस्न चाहनुभएको छैन,’ उनले भने, ‘यद्यपि नियमित महाधिवेशन नै गरेर जिम्मेवारी हस्तान्तरण गरौं भन्ने उहाँको चाहना छ। सभापतिजी विशेष महाधिवेशन माग गर्ने साथीहरूको मुद्दामा पनि सकारात्मक हुनुहुन्छ। विशेषले निकट भविष्यमै पार्टीमा चिरा पर्छकी भन्ने उहाँलाई छ। महामन्त्रीजीहरूको धारणामा पनि सहमत हुनुहुन्छ। उहाँकै टिममा भएका भनिएका पूर्वपदाधिकारीहरूप्रति भने केही दिनयता चिढिनुभएको छ। उहाँले महामन्त्रीहरू समक्ष पनि भन्नुभएको छ। अब जिम्मेवारी तपाईंहरूको काँधमा छ। सहमति गरौं भनिराख्नुभएको छ।’
देउवा निवासको बैठकमा नेताद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र नीति भने निर्वाचन सम्मुखमा आइसकेको हुनाले पार्टीको महाधिवेशनमा लाग्दा निर्वाचनको माहोल बनाउन नसकिने अडान लिँदै आएका थिए। ‘अरू पार्टीहरू निर्वाचन केन्द्रित अभियानमा लागिसके कांग्रेस पार्टीको महाधिवेशनमा बस्ने रु ,’ सिटौलाको भनाइ थियो, ‘१३ पुसमा समानुपातिकको बन्दसूची बुझाउने समय छ। हामीसँग समय खोई रु आफू नेता बन्नुभन्दा पनि पार्टी बलियो बनाएर लैजाउँ।’

प्रतिक्रिया