पर्सा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबिच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फर्छ्योट गर्न बाँकी छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले “एक लाख रुपैयाँको ऋण दिएर तीन लाख रुपैयाँसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याज पीडितले न्याय पाउन सकेका छैनन्”, भने ।
पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि एक लाख १० हजार रुपैयाँ ऋण लिएका साहुकार जोगिन्दर राउत कुर्मीले तीन लाख ३० हजार रुपैयाँको तमसुक बनाएको आरोप लगाएका छन् । उनले भने, “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।”
पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५ सय ९७ रुपैयाँ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिए ।

प्रतिक्रिया