काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । पार्टीका महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा अब समाजवादी मोर्चामा रहने अवस्था समाप्त भएको जानकारी दिनु भएको हो ।
विप्लवले जारी गर्नुभएको विज्ञप्तिमा २०८० सालमा चार राजनीतिक दलको सहभागितामा बनेको समाजवादी मोर्चा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जनजीविकाको पक्षमा संघर्ष र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यका साथ गठन गरिएको उल्लेख छ । विज्ञप्तिमा मोर्चाले प्रारम्भिक चरणमा केही महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गरे पनि अपेक्षित गति लिन नसकेको जनाइएको छ ।
‘जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक परिवेश र धारणा दुवैमा व्यापक परिवर्तन आएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै राजनीतिक दलहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी भइरहेका छन्, व्यापक बहसहरू आवश्यक बनेका छन् र सुरु पनि भइसकेका छन् ।’
विज्ञप्तिमा हाल समाजवादी मोर्चामा आबद्ध तीन दलबीच एकता भई नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भइसकेकाले हालको स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको जनाइएको छ । ‘यस्तो परिस्थितिमा हाम्रो जनप्रिय पार्टी नेकपाले समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछ,’ महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया