शनिबार र आइतबार सार्वजनिक बिदा दिएर सो समयमा सरकारी अस्पतालहरूमा ओपिडी सेवा बन्द हुँदा बिरामीहरूले ठुलो कठिनाइ भोग्नुपरेको भन्दै उहाँले स्वास्थ्य सेवा निरन्तर र सहज हुनुपर्नेमा जोड दिनुभएको हो।
उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओपिडी सेवा केवल सरकारी सुविधामा सीमित हुँदा सेवाग्राहीको पहुँच साँघुरो हुने र बिरामीमाथि अतिरिक्त आर्थिक भार पर्ने बताउनुभएको छ। महामन्त्री पौडेलले आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहँदा सुरु गरिएका सुधार प्रयासहरूको स्मरण गराउँदै सार्वजनिक बिदामा पनि सेवा सञ्चालन गर्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त घण्टा काममा प्रोत्साहन गर्ने व्यवस्था गरिएको उल्लेख गर्नुभएको छ।
सरकारी अस्पतालहरूमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्ने, सेवा समय विस्तार गर्ने तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता दिने विषयमा अध्ययन र कार्यान्वयन अघि बढाइएको पनि उहाँले सम्झाउनु भएको छ । उहाँले अस्पतालहरूमा स्वास्थ्यकर्मी अभाव समाधान गर्न पहिलो चरणमा २ हजार ५०० नयाँ जनशक्ति थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत स्मरण गराउनुभएको छ।
महामन्त्री पौडेलले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले नीति नागरिकलाई सेवाबाट वञ्चित गर्ने नभई सेवा विस्तार गर्ने दिशामा केन्द्रित हुनुपर्ने स्पष्ट पार्नुभएको छ।
उहाँले सरकारले पहिले सुरु गरिएका सुधार कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्वास्थ्य सेवालाई अझ प्रभावकारी, पहुँचयोग्य र नागरिक–केन्द्रित बनाउन आग्रह गर्नुभएको छ। ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा, नीति नागरिकहरूलाई सेवाबाट वञ्चित गर्ने होइन, बरु तिनीहरूलाई अझ विस्तार गर्ने हुनुपर्छ, यस दिशामा म सरकारलाई हिजो हामीले सुरु गरेका व्यापक सुधारहरूलाई निरन्तरता दिन र स्वास्थ्य सेवाहरूलाई अझ प्रभावकारी, पहुँचयोग्य र नागरिक(केन्द्रित बनाउन विशेष अनुरोध गर्दछु’, उहाँले लेख्नु भएको छ ।

प्रतिक्रिया