वीरगञ्ज- वीरगञ्जस्थित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा ‘समाचार वाचन प्रतियोगिता’ (Anchoring/Presentation Contest) आयोजना गर्ने भएको छ।
सामुदायिक सञ्चार क्षेत्रमा दुई दशक लामो गौरवपूर्ण यात्रालाई स्मरणीय बनाउन तथा स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रतियोगिताको मुख्य उद्देश्य समाचार वाचन र प्रस्तुतीकरण सीप विकासमा युवाहरूलाई प्रोत्साहित गर्नु रहेको आयोजकले जनाएको छ। सहभागीहरूलाई आफ्ना सञ्चार तथा प्रस्तुति क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ ।
एफएमका कार्यकारी निर्देशक शिवनाथ यादवका अनुसार, नारायणी एफएमले विगत दुई दशकदेखि समुदायका आवाजलाई मुखरित गर्दै समाचार, शिक्षा, मनोरञ्जन र सामाजिक सचेतनाका कार्यक्रमहरू निरन्तर प्रसारण गर्दै आएको छ। यस अवधीमा संस्थाले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्न सफल भएको उनको भनाइ छ।
वार्षिकोत्सवको विशेष कार्यक्रम अन्तर्गत सञ्चालन गरिने यस प्रतियोगिताबाट स्थानीय प्रतिभाको पहिचान र व्यावसायिक विकासमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
वार्षिकोत्सवको अवसरमा गरिने यो कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान र उनीहरूको व्यावसायिक विकासमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई संस्थाले आकर्षक नगद पुरस्कारको व्यवस्था गरेको छ । प्रथम पुरस्कार नगद रु. २०,०००/-, दोस्रो पुरस्काररु। १५,०००/-, तेस्रो पुरस्कार रु. १०,०००/- र सान्त्वना पुरस्कार रु.५,०००/- प्रदान गरिनेछ ।
‘समाचार वाचन प्रतियोगिता’ २०८२ साल मंसिर ६ गते (शनिबार) नारायणी एफएमको आयोजनामा सञ्चालन गरिनेछ। कार्यक्रम स्थलको जानकारी पछि सार्वजनिक गरिने यादवले बताए।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले एफएमको वेबसाइटमा रहेको“Apply Now” बटनमार्फत आवेदन फाराम डाउनलोड गर्न सक्नेछन्। फाराम भरेर एफएम कार्यालयमा प्रत्यक्ष रूपमा बुझाउनुपर्नेछ। साथै, फाराम कार्यालयमै पनि उपलब्ध हुने जनाईएको छ।
प्रतियोगितामा कुनै उमेर सीमा तोकिएको छैन। इच्छुक व्यक्ति जुनसुकै उमेर समूहका भए पनि यसमा सहभागी हुन सक्नेछन्। साथै, समाचार वाचनका लागि प्रयोग हुने भाषा प्रतिस्पर्धीले आफूअनुकूल छनोट गर्न सक्ने कार्यकारी निर्देशक शिवनाथ यादवले जानकारी दिए।
फाराम बुझाउने अन्तिम मिति मंसिर १ गते साँझ ५ बजेसम्म रहनेछ । नारायणी एफएमले सञ्चार क्षेत्रमा रुचि राख्ने सम्पूर्ण प्रतिभाहरूलाई समयमै आवेदन दिई यस अवसरको लाभ लिन आह्वान गरेको छ।

प्रतिक्रिया