मधेश प्रदेशमा प्रदेश प्रमुखद्वारा गरिएको विवादास्पद कदम र नव–नियुक्त मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिविरुद्ध जनमत पार्टी पर्साले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ।
मंगलबार बिहान वीरगञ्ज घन्टाघर क्षेत्रमा आयोजित विरोधसभामा, पार्टीका नेता–कार्यकर्ताहरूले संविधानको रक्षा र संघीयताको सम्मानको माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले “संविधानको रक्षा गर”, “संघीयताको सम्मान गर, असंवैधानिक सरकार खारेज गर” जस्ता नारा लगाउँदै र्याली समेत निकालेका थिए।
जनमत पार्टीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत ‘जंगली क्षेत्र’मा तथाकथित मुख्यमन्त्रीको नियुक्ति गरेको भन्दै तीव्र आपत्ति जनाएको छ। पार्टीका नेताहरूले उक्त कदमलाई संघीयता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको ठाडो प्रहार भएको टिप्पणी गरेका छन्।
कार्यक्रममा बोल्दै नेताहरूले भने, “संविधान र संघीयताको मर्ममाथि आघात पुर्याउने जो कोही पनि दण्डित हुनुपर्छ।” उनीहरूले असंवैधानिक रूपमा गठन गरिएको सरकार तत्काल खारेज गर्न माग गर्दै संघीय संरचनाको सम्मान गर्न सरकारसँग आग्रह गरे।
विरोधसभामा जनमत पार्टीका प्रदेश र जिल्ला स्तरीय नेता, युवा, विद्यार्थी तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया