वीरगंज -
असोज १४ गते राति वीरगंजको गीता मन्दिरमा चलेको दशैँ मेलामा मारिएका युवकको हत्यामा संलग्न मुख्य आरोपीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनी पक्राउ परेसँग अपराधमा १६ वर्षकै युवाहरु कसरी संलग्न भइरहेका छन् भन्ने खुलासा पनि भएको छ । अर्कातिर पहिलोपटक जिल्लाको कमाण्ड सम्हाल्न आएका पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकको नेतृत्व यस्तो आपराधिक घटनाका योजनाकार समाएर प्रशंसाको पात्र पनि भएको छ । ह्वाट्स एपमा ‘खुनी दरिन्दे समूह (ग्याङ)’ भनेर ग्रुप चलाउने समूहले वीरगंजमा यस्तो घटना गराएको पनि खुलेको छ ।
पर्साको पकहाँ मैनपुर गाउँपालिका–१, धोरे स्थायी घर भई वीरगंजमा बस्दै आएका अन्दाजी १६ वर्षी अंशु गिरी मंगलबार साँझ पक्राउ परेपछि दशैँ मेलामा हत्या भएका युवाको घटनामा प्रहरीलाई ठूलो सफलता मिलेको हो । घटनालगत्तै फरार गिरीलाई भारतमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको
हो ।
यसअघि नै हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेर असोज १६ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेको थियो । यसअघि पक्राउ पर्नेमा हत्याका मुख्य आरोपी पर्साको वीरगंज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भनिने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा थिए ।
वीरगंजमा लागेको दशैँ मेलामा अष्टमीका राति असोज १४ गते मंगलबार राति ११:३० बजेतिर वीरगंज महानगरपालिका वडा नम्बर १० गीता मन्दिर रोडमा युवाको दुई समूहबीच कुटपिट हुँदा बारा, परवानीपुर गाउँपालिका वडा नम्बर ९ स्थायी घर भई वीरगंज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भनिने शिवम कुमार साह कानुको मृत्यु भएको थियो ।
गोल्डेनको हत्या ‘खुनी दरिन्दे समूह’ का नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाको समूहले गरेको अनुसन्धानक्रममा खुलेको असोज १६ गतेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले खुलासा गरेका थिए । घटनामा संलग्न अरू केही व्यक्तिको पनि पहिचान खुलिसकेको र उनीहरूको पनि खोजी भइरहेको प्रहरी उपरीक्षक पाठकले
बताए । यसैक्रममा १६ वर्षका गिरी भारतमा लुकेर बस्दा पनि समातिएपछि प्रहरीको नजरमा अपराधी धेरै लुक्न नसक्ने विषय पनि सतहमा आएको छ । अर्कातिर इन्टरनेट र ह्वाट्स एप समूहबाट पनि अपराधमा युवाहरु संगठित भइरहेको पाइएको छ
प्रतिक्रिया