पूर्व खानेपानी मन्त्री प्रदीप यादवले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव समेत रहेका यादवले आफ्नो सचिवालय मार्फत राहदानी विभागमै पासपोर्ट फिर्ता गरेको जानकारी दिए ।
गत भदौ २३ गते जेन-जी पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा राज्यद्वारा गरिएको हिंसा र दमन पश्चात् भदौ २४ गते यादवले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस पश्चात् अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।
प्रतिनिधिसभा विघटन भएपछि राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने प्रावधानअनुसार पर्सा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेका यादवले आज सचिवालय मार्फत पासपोर्ट फिर्ता गरेका हुन् ।
संसद् सचिवालयका अनुसार हालसम्म पर्सा जिल्लाका अन्य सांसदहरू अजय कुमार चौरसिया, राजकुमार गुप्ता, रमेश रिजाल र बिना जयसवाल कुर्मीले हालसम्म पनि आफ्नो रातो पासपोर्ट फिर्ता गरेका छैनन् ।

प्रतिक्रिया