भारतको जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले बिहार विधान सभा चुनाव नलड्ने घोषणा गरेका छन् । पार्टीको हितका लागि आफूले चुनाव नलड्ने निर्णय गरेको उनले बताएका छन् ।
बुधबार पीटीआईसँगको अन्तर्वार्तामा प्रशान्त किशोरले भनेका छन्, ‘म चुनाव लड्दिनँ । पार्टीका धेरै काम छन् । यदि म ती सबैलाई पूरा गरेँ भने त्यही पर्याप्त हुन्छ । यदि म चुनाव लड्न गएँ भने काममा बाधा पर्छ । त्यसैले मैले अहिले जे काम गरिरहेको छु, त्यसैलाई निरन्तरता दिनेछु ।’
उनले समाज र सडकमा राजनीतिक अभियानलाई निरन्तरता दिन नै आफू सक्रिय हुने बताए ।
प्रशान्त किशोरले निर्वाचनमा १५० भन्दा कम सिट ल्याएमा हार बराबर हुने बताए । ‘१५० भन्दा कम सिट, चाहे १२० वा १३० नै किन नहोस्, त्यो मेरो लागि हार हुनेछ,’ उनले भनेका छन्, ‘यदि हामीले राम्रो काम गर्यौं भने बिहारलाई अरु राज्यहरुभन्दा राम्रो बनाउने जनादेश पाउँछौं । तर राम्रो काम गर्न सक्नौं भने यसको अर्थ जनताले हामीमाथि विश्वास गरेका छैनन् भनेर बुझ्नुपर्छ ।’
बिहारको २४३ सदस्यीय विधानसभाका लागि आगामी नोभेम्बर ६ र ११ तारिखमा दुई चरणमा निर्वाचन हुँदैछ । मुख्य दलहरूले उम्मेदवारहरूको सूची जारी गर्दै आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
प्रतिक्रिया