काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट अलग हुनुभएको छ ।
उहाँले आइतबार सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी परित्याग गरिएको जानकारी दिनुभएको छ । ‘ आजसम्म मलाई नेता मानिदिनु भएकोमा धेरै धेरै धन्यवाद, आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्न चाहन्छु’, उहाँले भन्नु भएको छ । उहाँले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएसँगै नयाँ अभियानको घोषणा गर्नु भएको छ । उहाँले ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ गठन गरी अघि बढ्ने घोषणा गर्नुभएको छ।
उहाँले आफूसँग जोडिएकालाई आफ्नो अभियानमा आउन आह्वान गर्नु भएको छ । ‘मलाई साथ दिनुहुने साथीहरू जोडिनुहोस्, हिजो मसँग जोडिनुहुने साथीहरू फेरि जोडिनुहोस्, आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उहाँले भन्नु भएको छ ।
चौधरीले पार्टीभित्रका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरूसँग व्यक्तिगत दुस्मनी नरहेको स्पष्ट पार्नुभएको छ। संसदबाट राजीनामा दिएर पछि फिर्ता हुनेहरूसँग कुनै सम्झौता नहुने उहाँले बताउनुभएको छ । स्वार्थी मान्छेलाई आफ्नो तर्फबाट सहयोग नहुने उहाँको भनाइ छ ।
नयाँ दलमार्फत नयाँ विचार, भावना र राजनीतिक यात्राको सुरुवात हुने उहाँले बताउनुभयो । आफूलाई निर्वाचन आयोगले राजनीति गर्न नदिँदासम्म आफ्नो प्रतिमूर्ति राखेर पार्टी चलाउने चौधरिले सुनाउनुभयो ।

प्रतिक्रिया