यसपालि निजामती सेवा दिवसको अवसरमा सरकारको तर्फबाट कुनै पनि कर्मचारीलाई पुरस्कार दिन लायक ठहर गरिएको छैन । त्यसैले पुरस्कार पाउने कर्मचारीहरूको नामावली यस वर्ष सार्वजनिक गरिएको छैन । तर, अघिल्लो वर्ष छनोट गरिएका कर्मचारीहरूलाई भने यसपालि पुरस्कार वितरण गरिएको छ ।
नियमअनुसार सरकार प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार दिने गर्दछ । तर २०७३ साल यता दुई लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती पुरस्कार कुनै पनि कर्मचारीलाई दिइएको छैन । पछिल्लो पटक तत्कालीन सचिव शान्तराज सुवेदीले यो पुरस्कार पाएका थिए ।
एक लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती र ५० हजार रुपैयाँ राशिको निजामती पुरस्कार भने हरेक वर्ष वितरण हुने गरेकोमा यस वर्ष नामावली नै सार्वजनिक नगरिएको हो ।
नेपाल पुलिस क्लबमा आयोजित मूल समारोहमा मुख्य सचिव एकनारायण अर्यालले विगतका वर्षझैं यस वर्ष पनि पुरस्कार पाउनेहरूको नाम छिट्टै घोषणा गर्ने बताए । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पनि पुरस्कार घोषणा नगरिएको पुष्टि गरे तर यसको कारण खुलाएनन् ।
यसपटक उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । प्रधानमन्त्री केपी शर्मा ओली विधान महाधिवेशनमा व्यस्त भएकाले सहभागी हुन सकेनन् ।
प्रतिक्रिया