पर्याप्त पानी नपर्दा धानबाली सुक्न थालेका छन् । पानी अभावका कारण खेतमा धजा देखिन थालेका छन् । डिप बोरिङ्ग र नदी छेउका खेतमा दमकलमार्फत सिँचाइ गरिएको भए पनि बाँकी खेतहरूमा सिँचाइ नहुँदा धान जलेर नष्ट भएको किसानहरूले बताएका छन् ।
प्रसौनी बिर्ताका एक किसानले आफ्ना १८ कठा धानबाली पानीको अभावमा पूर्ण रूपमा नष्ट भएको बताए । उनका अनुसार बाँकी १७ कठामा नदी र बोरिङ्गमार्फत सिँचाइ गरेर केही जोगाउन सकिएको भए पनि बाँकी खेतमा भने सबै धान जलेर नष्ट भएको छ ।
“पोरसाल राम्रो उत्पादन भएकै कारण यसपालि थप एक बिगाहा जमिन लिजमा लिएर खेती गरेको थिएँ, तर अब सबै लगानी डुब्ने भयो,” उनले भने ।
दमकलले सिँचाइ गर्दा खर्च अत्यधिक हुने मात्र नभई प्रतिफल पनि अपेक्षित नआएको किसानहरूको गुनासो छ ।
पानी समयमा नपर्नु, सिँचाइको समस्या, र समयमा मल नपाइने जस्ता कारणले यसपालि धानखेती निकै कठिन भएको किसानहरूले बताएका छन् । आकाशे पानीमा भर पर्नु पर्ने किसानहरूलाई यस वर्ष पर्याप्त वर्षा नहुँदा ठूलो संकट परेको छ । कृषि क्षेत्रका विज्ञहरूले पनि यसपालि धान उत्पादनमा ठूलो कमी आउने अनुमान गरेका छन् ।
प्रतिक्रिया