चीन – प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस बैठकलाई सम्बोधन गर्दै विश्व शासन प्रणालीलाई प्रभावकारी, न्यायपूर्ण र समावेशी बनाउन बहुपक्षवादलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिनुभएको छ।
चीनको तियानजिन सहरमा भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले ‘अहिलेको युगमा कुनै पनि राष्ट्र एक्लै सुरक्षित र समृद्ध हुन सक्दैन’ भन्दै सामूहिक सहकार्य र आपसी विश्वास अपरिहार्य रहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले सुरुवाती सम्बोधनमा चीन सरकार र जनतालाई धन्यवाद दिँदै नेपाली जनताको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो – ‘तियानजिन सहर सुन्दरता, संस्कृति र नवप्रवर्तनले सधैँ चम्किरहने सहर हो, यहाँ उपस्थित हुन पाउँदा ठुलो सम्मान अनुभव गरेको छु, चीन सरकारलाई यस बैठकका लागि प्रदान गरिएको उदार आतिथ्य र उत्कृष्ट व्यवस्था प्रति हार्दिक आभार व्यक्त गर्दछु।’
उहाँले हालको विश्व परिस्थिति औँल्याउँदै भन्नुभयो/‘हामी विज्ञान, प्रविधि र नवप्रवर्तनको असाधारण प्रगतिका युगमा बाँचिरहेका छौँ, तर यस प्रगतिमाथि गहिरा चिरा छन्, बढ्दो असमानता, आर्थिक अस्थिरता, जलवायु सङ्कट र सीमापार फैलिने द्वन्द्वहरूले विश्वलाई असुरक्षित बनाइरहेको छ, यस्तो अवस्थामा कुनै राष्ट्र एक्लै सुरक्षित हुन सक्दैन, कुनै जनता टुक्रिएर समृद्धि हासिल गर्न सक्दैनन्।’
प्रधानमन्त्री ओलीले बहुपक्षवादलाई समयको अपरिहार्यता भन्दै यसले अपेक्षित नतिजा दिन नसकेको कटु यथार्थ औँल्याउनुभयो। ‘नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दिइएको छ, शान्ति र न्याय अझै दुर्लभ छन्, बहुपक्षवाद प्रतिज्ञा धेरै गर्छ, तर प्रगति थोरै हुन्छ, वाचा पूरा नभएर विश्वास क्षीण हुन्छ, तर बहुपक्षवादलाई छोड्नु समाधान होइन, हामीलाई अहिले पुनर्जीवित बहुपक्षवाद चाहिएको छ’, उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखी विश्व शासन प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले चीनद्वारा अघि सारिएको ‘ग्लोबल गभर्नेन्स इनीसिएटिभ ९जिजिआई०’ को समर्थन व्यक्त गर्नुभयो। ‘यो पहलले बहुपक्षीय प्रणालीलाई न्यायपूर्ण, समावेशी र समानतामूलक बनाउन मद्दत गर्नेछ, मानवताको साझा भविष्य निर्माण गर्न यसले ठोस योगदान पुर्याउनेछ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। ‘अब हामीलाई अझ एकताबद्ध, अझ एकीकृत र अझ सशक्त एससिओ चाहिएको छ, जसले बढ्दो भू–राजनीतिक, आर्थिक र वातावरणीय चुनौतीहरूलाई सामना गर्न सक्छ’, ओलीले भन्नुभयो ।
नेपाल २०१६ देखि एससिओको संवाद साझेदार रहेको उल्लेख गर्दै उहाँले नेपाललाई पूर्ण सदस्य बनाउने आकाङ्क्षा पनि प्रष्टसँग राख्नुभयो। उहाँले भन्नुभयो – ‘नेपाल सन् २०१६ देखि गर्वका साथ संवाद साझेदार रहँदै आएको छ, अब हामी पूर्ण सदस्य बन्ने आशा राख्छौँ’, उहाँले भन्नुभयो ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले शान्ति र सुरक्षा सवालमा पनि ध्यानाकर्षण गर्नुभयो। उहाँले भन्नुभयो – ‘हामी शान्तिको कुरा क्षेत्रीय सुरक्षालाई सम्बोधन नगरी गर्न सक्दैनौँ, आतङ्कवादले समाजलाई असुरक्षा र अवसरविहीन बनाउँछ, जलवायु परिवर्तनले जोखिम बढाउँछ, हिमालयको मुटुमा बस्ने नेपाल यसका प्रत्यक्ष प्रहारमा छ, हाम्रा हिमालहरूले विश्वको जलवायु सन्तुलन कायम राख्छन्, तर अहिले हिउँको भण्डार हराउँदै छ, जसले तलका अर्बौँ मानिसको जीवनलाई जोखिममा पारेको छ।’
उहाँले साइबर आक्रमण, महामारी र वातावरणीय सङ्कटजस्ता नयाँ खतराहरू सीमाभन्दा पर फैलिने भएकाले सामूहिक प्रतिक्रिया अपरिहार्य भएको बताउनुभयो। साथै उहाँले २०३० को एजेन्डाअनुसार दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न बाँकी पाँच वर्ष मात्रै रहँदा प्रगति अपेक्षाकृत कमजोर रहेको स्मरण गराउनुभयो।
प्रधानमन्त्री ओलीले क्षेत्रीय सहकार्यलाई साझा चुनौती समाधान गर्ने औजारका रूपमा प्रस्तुत गर्दै भन्नुभयो – ‘आर्थिक, प्राविधिक र वातावरणीय समस्या समाधानका लागि क्षेत्रीय सहकार्य महत्त्वपूर्ण छ, नेपाल क्षेत्रीय सहकार्यप्रति दृढ प्रतिबद्ध छ र एससिओ सदस्य राष्ट्रहरूसँग हाम्रो सम्बन्ध मजबुत छ।’
भविष्यका लागि आवश्यक तीन प्रमुख परिवर्तन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘पहिलो, एकान्तताबाट सम्पर्कतर्फ जानुपर्छ, भौतिक, आर्थिक, डिजिटल, सामाजिक–सांस्कृतिक र जन–जनबीचको सम्पर्क बढाएर क्षेत्रीय शान्ति, प्रगति र समृद्धि सुनिश्चित गर्नुपर्छ, दोस्रो, टकराबबाट परामर्शतर्फ जानुपर्छ, असहमति स्वाभाविक हो, तर विवाद विनाशकारी हुन आवश्यक छैन, शाङ्घाई स्पिरिटलाई आत्मसात् गर्दै संवाद र कूटनीतिक परामर्शमार्फत गहिरो समझदारी विकास गर्नुपर्छ, तेस्रो, प्रतिस्पर्धाबाट सहकार्यतर्फ जानुपर्छ, विश्वलाई अहिले विभाजन होइन, साझेदारी चाहिएको छ, क्षेत्रीय र वैश्विक रूपमा मिलेर काम गर्दा मात्र हामी न्यायपूर्ण, समावेशी र सशक्त प्रणाली निर्माण गरेर दिगो विकास हासिल गर्न सक्छौँ।’
प्रधानमन्त्री ओलीले सबै मुलुकलाई छाडिने होइन, समेटिने प्रवृत्तिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘विश्वले अझ साझेदारी चाहन्छ, विभाजन होइन, हामीले सम्पूर्ण विश्वलाई समेट्ने सहकार्य सुनिश्चित गर्नुपर्छ, जसले कुनै राष्ट्रलाई पछाडि पर्न नदिउन्’, उहाँले सुझाव दिनुभयो ।
सम्बोधनको निष्कर्षमा उहाँले फेरि बहुपक्षवाद र प्रतिस्पर्धाबाट एससिओको भूमिकामा जोड दिनुभयो। उहाँले भन्नुभयो – ‘नेपाल एससिओ भित्र क्षेत्रीय सहकार्य बढाउन प्रतिबद्ध छ, हामी नियममा आधारित, समावेशी बहुपक्षीय प्रणालीको पक्षमा छौँ, जसले दिगो भविष्य सुनिश्चित गर्छ, शाङ्घाई स्पिरिटलाई कायम राखौँ, मित्रता र साझेदारीलाई बलियो बनाऔँ, र छिमेकी सम्बन्धलाई सुदृढ पारौँ, जब हामी सबै मिलेर काम गर्छौँ, तब समृद्ध र सशक्त एससिओ क्षेत्र हाम्रो पहुँचमा हुनेछ।’
प्रतिक्रिया