युनिटी कपअन्तर्गतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई २० रनले हराउँदै ऐतिहासिक नतिजा हात पारेको छ। यो नेपालको राष्ट्रिय टोलीले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलो पटक पराजित गरेको हो।
शारजाह क्रिकेट रंगशालामा शनिबार सम्पन्न खेलमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन मात्रै बनाउन सक्यो। पाहुना टोलीका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाए।
नेपालको बलिङमा कुशल भुर्तेलले २ विकेट लिए भने कप्तान रोहित पौडेल, ललित राजवंशी, करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रनको प्रतिस्पर्धी योगफल तयार गरेको थियो। कप्तान रोहित पौडेलले ३८ रनको योगदान गरे भने कुशल मल्ल ३०, गुल्सन झा २२, दीपेन्द्रसिंह ऐरी १७, सन्दीप जोरा ९, कुशल भुर्तेल ६ र आसिफ शेख ३ रन बनाए। करण केसी शून्य रनमा आउट भए भने अन्त्यतिर सोमपाल कामी ६ तथा नन्दन यादव ७ रनमा अविजित रहे।
वेस्ट इन्डिजका बलर जेसन होल्डरले सर्वाधिक ४ विकेट लिएका थिए।
तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेल सोमबार खेलिने कार्यक्रम छ।

प्रतिक्रिया