काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हेर्ने औँसीको दिनका अवसरमा सामाजिक सञ्जालमार्फत बुबाप्रति आदर प्रकट गर्नुभएको छ।
उहाँले आफ्ना बुबा ९६ वर्ष पुग्नुभइसक्नु भएको र अझै चस्मा बिना पुस्तक पढ्न सक्ने उल्लेख गर्दै दीर्घायुको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार बिहानै बुबासँग आशीर्वाद लिएको स्मरण गर्दै फेसबुकमा लेख्नुभएको छ– ‘बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो, बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नु पर्छ।’
उहाँले आफ्नो चार वर्षको उमेरमै आमाको निधन भएको स्मरण गर्दै आमाबाबु दुवैको आदर गर्ने संस्कारबारे जोड दिनुभएको छ। ‘टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो,’ प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ।
बुबासँग एकछिन पुराना प्रसङ्गमा कुरा भएको बताउँदै उहाँले लेख्नुभएको छ– ‘कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ।’
प्रधानमन्त्री ओलीले जीवित पिताहरूप्रति नमन र दिवंगत पितृप्रति श्रद्धा प्रकट गर्दै बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना दिनुभएको छ।
प्रतिक्रिया