वीरगञ्ज- वीरगञ्जमा हैजाको संक्रमण फैलिने जोखिम बढेसँगै नगरभित्रका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन्। संक्रमणको जोखिम तथा पछिल्लो समय झाडा–पखालाका बिरामी तीव्र रूपमा बढ्दै जाँदा स्वास्थ्य आपतकालीन अवस्था सिर्जना हुने चिन्ता बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।
नारायणी अस्पतालमा मात्रै दैनिक दर्जनौं बिरामी झाडा–पखालाको उपचारका लागि पुगिरहेका छन् भने पाँच जनामा हैजा पुष्टि भइसकेको छ।
शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार, भाद्र ८ र ९ गते (आइतबार र सोमबार) विद्यालयहरूको पठनपाठन स्थगित गरिएको छ। हैजाको जीवाणु दूषित पानी र खानाबाट सर्ने भएकाले बालबालिकामा संक्रमणको जोखिम बढी हुन्छ। यसै कारण विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित राख्न यो निर्णय गरिएको हो।
स्वास्थ्यकर्मीहरूले उमालेर मात्र पानी पिउन, खानेकुरा राम्रोसँग पकाएर मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रतिक्रिया