पर्सा र बारा जिल्लाका उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय महिलाको पहिचान उजागर गर्ने उद्देश्यसहित ‘बृहत् महिला सम्मेलन २०८२’ वीरगञ्जमा आयोजना हुने भएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको महिला उद्यमशीलता विकास समितिको आयोजनामा यही भदौ १४ गते शनिबार सम्पन्न हुने सम्मेलनमा नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।
“नारी शक्ति, समर्पण र सम्मान” भन्ने मूल नारासहितको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रेरणादायी तथा उल्लेखनीय योगदान पुर्याउने ३० देखि ४० जना महिलालाई सम्मान गरिनेछ। साथै, विचार, पेशा र कर्मबाट राष्ट्रिय पहिचान बनाएका महिलासँग विविध विधामा प्यानल छलफल समेत गरिनेछ।
कार्यक्रमले महिला उद्यमीहरूको नेतृत्व क्षमता विकास, उद्योग–व्यापार प्रवर्द्धन र समाजमा महिलाको पहिचान मजबुत बनाउने उद्देश्य राखेको छ। आयोजक समितिका अनुसार यस सम्मेलनमार्फत महिलालाई उद्यमशीलता, सामाजिक सेवा र राष्ट्र निर्माणतर्फ अभिप्रेरित गर्ने लक्ष्य लिइएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक निरज अग्रवाल, सह–संयोजक अनुप अग्रवाल, महिला उद्यमशीलता विकास समितिका संयोजक डा। लक्ष्मी थापा, सङ्घका अध्यक्ष हरिप्रसाद गौतम लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकी गुडि साहले स्वागत मन्तव्य राखेकी थिइन् ।
प्रतिक्रिया