काठमाडौं: प्रहरीले राजधानी भित्रिने मुख्य नाका नागढुंगाबाट ठूलो मात्रामा लागुऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले गएराती गरेको जाँचका क्रममा १४ हजार ७६० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी–५ बस्ने २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा रहेका छन्। उनीहरूको साथबाट नगद ६० हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
बुधबार राति करिब १ बजेको समयमा बागमती प्रदेश ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडबाट काठमाडौंतर्फ आउँदै गर्दा शंका लागेर जाँच गरिएको थियो। सोही क्रममा उनीहरूले बोकेको लागुऔषध र नगद फेला परेको प्रहरीले बताएको छ।
पक्राउ परेका दुवै युवालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ। यस घटनाले राजधानीमा लागुऔषध ओसारपसार गर्ने गिरोह सक्रिय रहेको र नागढुंगा नाका यसको मुख्य प्रवेशबिन्दु बनेको देखाएको छ।
प्रतिक्रिया