वीरगञ्ज : वीरगञ्ज महानगरपालिका – १ स्थित छपकैया र नदिया टोलका विभिन्न घरहरूमा भन्सार छली गरी लुकाइ राखिएको करिब १८ लाख ५० हजार रुपैयाँ बराबरको कपडा सशस्त्र प्रहरी बलले छापामारी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उक्त परिमाणको कपडा नियन्त्रणमा लिएको हो । बरामद कपडाहरू भारतबाट तस्करी गरी ल्याइ स्थानीय घरमा लुकाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले दाबी गरेको छ ।
गणका सूचना अधिकारी, सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहका अनुसार, तस्कर समूहले भन्सार छल्दै कपडाहरू लुकाएर राखेको विशेष सूचनाको आधारमा छापामारी गरिएको थियो । “सामग्रीहरू बाहिर पठाउने तयारी भइरहेको सूचना पाएपछि छापा मारिएको हो,” उनले भने ।
सूचनाको आधारमा पहिलो पटक कारबाही अगाडि बढाइएको डिएसपी सिंहले बताए । “तस्कर समूहले ल्याएको कपडा स्थानीय बासिन्दाको घरमा भण्डारण गरिएको थियो, उनले भने ।
बरामद गरिएका सबै कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
घटनाले वीरगञ्ज क्षेत्रमा क्रियाशील तस्कर समूहको सञ्जाल र उनीहरूले अपनाउँदै आएको नयाँ रणनीतिप्रति सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया