वीरगञ्ज : नेपालको बाटो हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई शुक्रवार वीरगञ्ज–रक्सौल जोड्ने मैत्री पुलबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बङ्गलादेशको कुम्मीला ढाका निवासी अन्दाजी ५० वर्षीय सैयद इकबाल अहमद रहेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, वैध कागजात (भिसा) बिना नै भारत प्रवेश गर्न खोजेका अहमदलाई अनुसन्धानका लागि रक्सौलस्थित अध्यागमन कार्यालयमा राखिएको छ। प्रारम्भिक सोधपुछमा अहमदले आफू ढाकाबाट काठमाडौँ हुँदै वीरगञ्जको बाटोबाट भारत प्रवेश गर्न खोजेको बताएका छन्। उनले उत्तर प्रदेशको लखनउस्थित दारुल उल मदरसामा कार्यरत बङ्गलादेशी शिक्षक जुबेर आलमलाई भेटेर अजमेर जाने योजना रहेको प्रहरीलाई बयान दिएका छन्।
रक्सौलको हरैया थानाका प्रमुख किशन कुमारले लखनउमा कार्यरत जुबेर आलमको वैधानिकतामाथि पनि अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेका अहमदविरुद्ध हरैया थानामा मुद्दा दर्ता गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
’अपरेसन सिन्दूर’ पछि सीमामा उच्च सतर्कता
भारतीय सेनाको ’अपरेसन सिन्दूर’ पछि रक्सौल सीमामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। विगत डेढ महिनामा रक्सौल सीमाबाट एक दर्जनभन्दा बढी विदेशी नागरिकहरू अवैध घुसपैठको प्रयासमा पक्राउ परिसकेका छन्, जसमा बङ्गलादेशी, चिनियाँ र इरानीलगायत अन्य देशका नागरिकहरू समावेश छन्। एसएसबीले सीमामा गस्ती र जाँचलाई तीव्र बनाएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, प्रहरीले बाराको महागढीमाई नगरपालिकामा सात जना शङ्कास्पद पाकिस्तानी र बङ्गलादेशी नागरिकहरू अवैध तरिकाले लुकेर बसेको गोप्य सूचना प्राप्त गरेको छ। यीमध्ये तीन जना पाकिस्तानको खुफिया एजेन्सी आईएसआईसँग जोडिएको र दुई जना पूर्व पाकिस्तानी सेनासँग सम्बन्धित भएको भारतीय प्रहरीको आशङ्का छ। शङ्कास्पद व्यक्तिहरूको नाम रजक खान, अस्मत खान र अरबुद्दीन खान रहेको उल्लेख गरिएको छ, जो जुन २०२५ को पहिलो सातादेखि नेपालको सीमावर्ती क्षेत्रमा सक्रिय छन्।
भारतका खुफिया निकायहरूले यी शङ्कास्पद व्यक्तिहरू कुनै ठूलो षड्यन्त्रको तयारीमा हुन सक्ने आशङ्का गरेका छन्।
खुला सीमाको चुनौती र सुरक्षाको आवश्यकता
भारत र नेपालबिचको १ हजार ७ सय ५१ किलोमिटर लामो खुला सीमा घुसपैठिया र तस्करहरूका लागि सहज बाटो बनेको छ। रक्सौल, बहराइच र किशनगञ्जजस्ता सीमावर्ती क्षेत्रमा बारम्बार घुसपैठका घटनाहरू अगाडि आइरहेका छन्।
नेपालको बलरामपुर र अन्य सीमावर्ती गाउँहरूमा अतिक्रमणका कारण सुरक्षा जाँचमा कठिनाइ भइरहेको छ। कतिपय स्थानमा घर नेपालमा र आँगन भारतमा हुने अवस्थाले घुसपैठियाहरूलाई फाइदा पुगिरहेको छ।
एसएसबीकी कमान्डेन्ट गङ्गा सिंह उदावतका अनुसार, रक्सौलमा नक्कली आधार कार्ड र अन्य जाली कागजातहरू जाँच गर्न हाईटेक स्क्यानरहरूको व्यवस्था गरिएको छ। प्रत्येक आवतजावत गर्ने व्यक्तिको कडा जाँच गर्न सुरक्षा बलहरूलाई निर्देशन दिइएको छ।
सैयद इकबाल अहमदको पक्राउ र अन्य शङ्कास्पद व्यक्तिहरूको उपस्थितिले नेपाल–भारत सीमाको सुरक्षामाथि फेरि प्रश्न उठाएको छ। यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडा गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
प्रतिक्रिया