वीरगन्ज,१५असार : पर्साको ठोरी गााउपालिकाका विभिन्न स्थानमा सञ्चालित होटलहरुमा भइरहेको यौन धन्दा रोक्न प्रहरीले चासो नलिएपछि स्थानीय महिलाहरु संगठीत भएर आँफै त्यसको प्रतिवादमा उत्रिएका छन् ।
भारतसंग सीमा जोडिएका ठोरी गाँउपालिकाका वडा नम्बर २, ३ र ४ मा रहेका खाजा–नास्ता खाने धेरै जसो होटलहरुमा खासगरी बिहारबाट आउने ग्राहकहरुलाई लक्षित गरेर होटल सञ्चालकले यौन धन्दा चलाइरहेको महिलाहरुको आरोप छ ।
त्यसलाई रोक्न महिलाहरुले ईलाका प्रहरी कार्यालय ठोरीमा पुगेर पटक पटक उजुरी दिदाँपनि प्रहरीले चासो नै नलिएपछि त्यस्ता गलत गतिविधि रोक्न महिलाहरु संगठीत आँफै अगाडि सरेका हुन् । यसैक्रममा ठोरी–४ आठघरेका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोधमा कडा कदम चालेका छन् । उक्त क्षेत्रका होटलहरूमा लामो समयदेखि यौन धन्दा सञ्चालन भइरहेको भन्दै स्थानीय महिलाहरूले त्यस्ता गतिविधिमा संलग्न पुरुषहरूलाई पिटेर खेदेका छन् ।
ईलाका प्रहरी कार्यालय ठोरीमै सयौंको संख्यामा पुगेर महिलाहरुले उजुरी दिदापनि कुनै ठोस कारबाही नभएपछि आफैं संगठित भएर यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गरेको आठघरेका महिलाहरुले बताएका छन् ।
स्थानीय महिलाहरूका अनुसार, ठोरी गाउँपालिकाका विभिन्न स्थानमा रहेका होटलहरूमा यौन व्यवसाय खुलेआम रुपमा चलिरहेको छ । यस्ता गतिविधिले समुदायमा नकारात्मक प्रभाव परिरहेको र विशेषगरी युवा पुस्ता तथा महिलाहरूको सुरक्षामा चुनौती थपिएको उनीहरूको भनाइ छ ।
‘हाम्रो गाउँमा यस्तो गलत कामले हाम्रा छोरीचेली र समुदायको इज्जतमा धक्का पुगेको छ,’आठघरेको महिला समूहकी एक सदस्यले भनिन्,‘हामीले यस्ता गतिविधि रोक्न आफैं अघि सर्नुप¥यो ।’
साभारः नयाँ ठोरी
प्रतिक्रिया