सिरहामा मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार भएको छ । सिरहाको लहान नगरपालिका ३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।
कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ । उनको टाउको, घाँटी र ढाडमा चोट लागेको छ । अवस्था भने सामान्य रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको हो ।
घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एकजना भने फरार छन् ।
जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश महतो फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिवछका छोरा मनिषले चलाइरहेको मोटरसाइकलले स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएपछि विवाद भएको थियो । त्यसपछि जिवछ महतोका परिवारका सदस्यहरु मिलेर देवकुमारलाई कुटपिट गरेका थिए । यो घटना बुधबारको भए पनि ढिलोमात्र सार्वजनिक भएको हो ।
प्रतिक्रिया