नेकपा (एमाले)ले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा (एमाले)ले जनाएको छ । यद्यपि यसको औपचारिकता दिन भने बाँकी रहेको एमालेले जनाएको छ।
शाही कात्तिक २७ गते मात्रै एमाले फर्किएका हुन्। उनी यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा थिए।
एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिने शर्तमा एमालेले पार्टीमा भित्र्याएको हो। शाही २०७४ सालमा पनि महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
शाही त्यतिबेला ३ हजार ५२२ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले २ हजार ९०० मत ल्याएका थिए।
शाही २०७९ को निर्वाचनमा पनि अध्यक्षका उम्मेदवार थिए। तर त्यो चुनावमा भने उनी तेस्रो भएका थिए।

प्रतिक्रिया