काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर विकल्प खोज्न निर्देशन दिएका छन्।
बुटवल–नारायणगढ सडक खण्डको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति सो क्षेत्रका जनप्रतिनिधिहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले विश्वसनीय निर्माणको काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोडेर विकल्प खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले आफूहरूले सोचेजस्तो विकासका काम अगाडि बढ्न नसकेको र अगाडि बढेका कतिपय कामहरू पनि सन्तोषजनक नभएको बताए। प्रधानमन्त्री ओलीले चार वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको सडक साढे ६ वर्ष पूरा हुँदा पनि ५३ प्रतिशत मात्र काम हुनु भनेको काम नगरे बराबर रहेको भन्दै विकल्प खोज्न निर्देशन दिएका हुन्।
बुटवल(नारायणगढ सडकखण्डसँग जोडिएका पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रूपन्देहीका सबै जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधिहरूले बिहीबार प्रधानमन्त्रीलाई भेटेर उक्त ध्यानाकर्षण पत्र बुझाएका थिए। ती सबै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका पनि प्रमुख र उपप्रमुखहरूको टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, कृषि मन्त्री बलराम अधिकारीसहित प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कार्यालयमै भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।

प्रतिक्रिया