पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको नैनसिंह महरले बताए ।
अभियानद्वारा जारी वक्तव्यमा देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गरिएको छ । सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको तर्फ अभियानले ध्यानाकर्षण गराएको छ ।
सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको वक्तव्यमा जनाइएको छ ।
‘कांग्रेस विभाजित हुँदा प्रतिगामी शक्तिहरू हाबी हुने र लोकतन्त्र कमजोर हुने ऐतिहासिक तथ्यलाई आत्मसात् गर्दै हामीले यो अभियान सुरु गरेका हौँ,’ वक्तव्यमा भनिएको छ ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरिने राष्ट्रिय एकता भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका साथै विभिन्न तह, वर्ग र समुदायका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिने आयोजकको दाबी छ ।
भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताए ।
यो अभियान कुनै व्यक्ति, गुट वा पदका लागि नभई ‘एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपाल’ को साझा संकल्प भएको उनीहरूको दाबी छ। वक्तव्यको अन्त्यमा भनिएको छ, ‘कांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ, लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ ।’
