काठमाडौँ- नेकपा ९एमाले० अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १३ दिन हिरासतमा रहेर रिहा भएपछि सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाइएको बताउनुभएको छ।
सर्वोच्च अदालतको आदेशपछि आज हाजिरी जमानीमा रिहा हुनुभएका ओलीले सार्वजनिक वक्तव्यमार्फत मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि आफू अन्ततः रिहा भएको बताउनुभएको हो। सर्वोच्च अदालतले अनुसन्धानका लागि थप हिरासत आवश्यक नरहेको भन्दै निर्धारित म्यादपछि रिहा गर्न आदेश दिएको थियो।
ओलीले वक्तव्यमा भन्नुभएको छ, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।’
उहाँले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेताहरू तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्नुभएको छ। ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु,’ वक्तव्यमा उल्लेख छ।
उहाँले सर्वोच्च अदालतप्रति पनि उच्च सम्मान व्यक्त गर्दै परमादेश जारी गरेको अदालतको भूमिकालाई प्रशंसा गर्नुभएको छ। अदालतले अनुसन्धान जारी राख्न सकिने भए पनि हिरासत अनिवार्य नभएको स्पष्ट गरेको थियो।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरिएको उल्लेख गर्दै ओलीले प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। पक्राउ गरे लगत्तै स्वास्थ्य समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो।
आफ्ना समर्थकहरूमाथि भएको दमनप्रति पनि उहाँले असन्तुष्टि जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाइएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्दछ,’ वक्तव्यमा भनिएको छ।
राज्य यसमा उदासीन भए पार्टीले नै उपचार खर्च बेहोर्ने जानकारी पनि उहाँले गराउनुभएको छ।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै ओलीले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति पनि आभार व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया