वीरगञ्ज – पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअरावामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम एमालेका लागि शक्तिप्रदर्शनमा परिणत भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले स्पष्ट शब्दमा भनिन्– “अब विकासको नेतृत्व एमालेले गर्छ, भ्रम र विभाजनको राजनीति अन्त्य हुन्छ।
उनले शिक्षा, स्वास्थ्य, कृषि र युवाको रोजगारीलाई प्राथमिकतामा राख्दै पर्सागढीलाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाइन। “बच्चाहरूको भविष्य सुरक्षित गर्न गुणस्तरीय शिक्षा, किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न ठोस नीति, र सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो पहिलो एजेन्डा हो,” उनले जोड दिइन्।
कार्यक्रममा उद्योगपति तथा एमाले नेता विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिका प्रमुख सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलमलगायतले सम्बोधन गर्दै एमालेको पक्षमा जनलहर स्पष्ट देखिएको दाबी गरे। वक्ताहरूले विपक्षी दलहरूले फैलाएको भ्रम र नकारात्मक प्रचार अब असफल हुने चेतावनी समेत दिएका थिए।
कार्यक्रमको सबैभन्दा उल्लेखनीय पक्ष भनेको पार्टी प्रवेश रह्यो। जसपा नेपाल, नेपाली कांग्रेसलगायत विभिन्न दल परित्याग गर्दै सयौँ नेता–कार्यकर्ता तथा सर्वसाधारण एमालेमा प्रवेश गरेका छन। प्रवेश गर्नेहरूले “स्थिरता, विकास र सुशासनका लागि एमाले नै विकल्प” भएको धारणा राखेका थिए।
बहुअरावामा देखिएको जनउत्साहले पर्सा क्षेत्रको चुनावी समीकरण नै बदल्ने संकेत दिएको एमाले नेताहरूको दाबी छ। कार्यक्रमले स्पष्ट सन्देश दिएको छ– पर्सागढीमा एमालेको संगठन बलियो बन्दै गएको छ र आगामी निर्वाचनमा यसको प्रत्यक्ष प्रभाव देखिनेछ।

प्रतिक्रिया