नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषादलाई समावेश गर्न मांग गरेको छ ।
सोमबार महासंघले पार्टी नेतृत्वलाई कडा सन्देश दिँदै केन्द्रीय अध्यक्ष तेज प्रकाश निषादलाई नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अनिवार्य केन्द्रीय सदस्यका रूपमा केन्द्रीय कमिटीमा समावेश गर्नुपर्ने स्पष्ट माग गरेको हो।
महासंघले यस मागलाई न्यायोचित, अपरिहार्य र पार्टीको दीर्घकालीन राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको जनाएको छ।
महासंघका अनुसार तेज प्रकाश निषाद कुनै व्यक्ति विशेष मात्र नभई पार्टीभित्रको पिछडावर्ग आन्दोलनको प्रतीक नेतृत्व रहेको, लामो समयदेखि पार्टी, संगठन र ओबिसी समुदायको हक–अधिकार, सम्मान र राजनीतिक प्रतिनिधित्वका लागि निरन्तर संघर्षरत रही उनले अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघलाई देशव्यापी रूपमा सशक्त बनाउँदै पार्टीको जनाधार विस्तारमा निर्णायक योगदान पुर्याउँदै आउनुभएको प्रष्ट पारेको छ।
पार्टीको आधारभूत शक्ति हुँदाहुँदै पनि पिछडावर्ग समुदाय केन्द्रीय तहमा निरन्तर उपेक्षित हुँदै आएको यथार्थप्रति महासंघले गम्भीर आपत्ति जनाएको छ। समावेशी, समानुपातिक र सामाजिक न्यायको राजनीति भन्ने कुरा केवल नारामा सीमित राख्ने कि व्यवहारमा उतार्ने भन्ने परीक्षा ११औँ राष्ट्रिय महाधिवेशनमा हुने महासंघको ठहर छ।
महासंघले स्पष्ट रूपमा भनेको छ कि तेज प्रकाश निषाद जस्तो अनुभवी, इमानदार, संघर्षशील र जनआधारित नेताको केन्द्रीय कमिटीमा समावेशीकरण नगर्नु भनेको पार्टीभित्रको सामाजिक न्यायको एजेन्डामाथि नै प्रश्नचिह्न खडा गर्नु हो। यस्तो निर्णयले पार्टीको वैचारिक विश्वसनीयता कमजोर पार्नुका साथै ठूलो जनसमुदायको विश्वासमा गम्भीर आघात पुग्ने चेतावनीसमेत महासंघले दिएको छ। पार्टी नेतृत्वले अब ढिलासुस्ती, बेवास्ता वा टार्ने प्रवृत्ति त्याग्नुपर्ने महासंघको ठोकुवा छ।
११औँ राष्ट्रिय महाधिवेशनबाट तेज प्रकाश निषादलाई केन्द्रीय सदस्यमा चयन गरी केन्द्रीय कमिटीमा समावेश गर्नु कुनै उपकार होइन, बरु पार्टीको ऐतिहासिक दायित्व भएको महासंघको निष्कर्ष छ।
महासंघले चेतावनीपूर्ण भाषामा भनेको छ—यदि यो न्यायोचित मागलाई पुनः उपेक्षा गरियो भने त्यसले पिछडावर्ग समुदाय, समावेशी लोकतन्त्र र पार्टी–जनसम्बन्धमा नकारात्मक र गम्भीर सन्देश जानेछ, जसको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्नेछ।
यही क्रममा अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज अकलेश कुमार साहले सामाजिक न्याय, समावेशी प्रतिनिधित्व र पार्टी सुदृढीकरणका पक्षमा यो माग सम्पूर्ण पिछडावर्ग समुदायको एकमत र दृढ आवाज भएको स्पष्ट गर्नुभएको छ।

प्रतिक्रिया