लामो समयदेखि धरानमा लागू औषधको कारोबारमा संलग्न रहेका पाँच जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बेलुका धरान उपमहानगरपालिका–१६ विशाल मार्गस्थित शिव राईको घरमा प्रहरीले खानतलासीका क्रममा शिव राईका २० वर्षीय छोरा सचिन राईको कोठाबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल ६ हजार ३०० ट्याब्लेट र स्पासपेन ३ हजार ५१८ क्याप्सुल बरामद गरिएको हो। प्रहरीले बरामद लागू औषधसहित सचिन राईसहित सोही कोठामा रहेका अन्य पाँच जनालाई पक्राउ गरिएको हो, पक्राउ पर्नेमा धरान–१६ बस्ने सरोज बहादुर राईका छोरा २० वर्षीय सौरव राई, धरान–११ बस्ने विनोद लिम्बुका छोरा २४ वर्षीय अश्विन लिम्बु, धरान–१७ बस्ने गणेश बहादुर खड्काका छोरा २५ वर्षीय संजय खड्का र धरान–१६ कै छलमान राईका छोरा २५ वर्षीय सुजन राई रहेका छन् । उनीहरूलाई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी राईका अनुसार धरान क्षेत्रमा लागू औषधको कारोबार बढ्दै गएको भन्दै प्रहरीले दैनिक रूपमा निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। “लागू औषध नियन्त्रण प्रहरीको मात्र दायित्व होइन,” उनले भने, “अभिभावकले पनि आफ्ना छोराछोरीको व्यवहार, संगत र गतिविधिमाथि निगरानी गर्न जरुरी छ।” धरानमा पछिल्लो समय युवाहरू लागू औषधको कुलतमा फस्दै गएकाले सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया