पर्सा — नेकपा एमाले पर्सा जिल्ला कमिटीको सचिवालय बैठक महत्वपूर्ण निर्णयहरू सहित आज सम्पन्न भएको छ। बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण, जनसंपर्क विस्तार र जनस्तरमा पहुँच अभिवृद्धिका लागि विविध कार्यक्रमहरू अघि सार्दै आउँदो मंसिर २९ गते वीरगञ्जमा जुलुस तथा जन सभा कार्यक्रम गर्ने निर्णय गरेको हो।
बैठकले जन सभा कार्यक्रममार्फत जनतामाझ पार्टीको नीति, योजना र राष्ट्रिय एजेन्डा बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको जनाएको छ। साथै, हालको राजनीतिक परिस्थिति र एमालेले अघि सारेका वैकल्पिक नीतिहरूबारे जनतालाई जानकारी दिने तयारी बैठकले गरेको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजराले बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले अहिले देशको स्थायित्व, विकास र सुशासनको मुख्य धारमा रहेको पार्टी भएको उल्लेख गरे। उनले भने, “एमाले जनताको पक्षमा उभिएको पार्टी हो। हामी जनताको बीचमा गएर सत्य र विकासको पक्षमा जनसमर्थन जुटाउँदैछौं। नेकपा एमालेका पर्सा जिल्ला इन्चार्ज समेत रहेका नेता हजराले जिल्लामा पार्टीको संगठनात्मक उपस्थितिलाई थप सशक्त बनाउँदै सबै पालिका र वडासम्म जनसंपर्क कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जुलुस तथा जनसभा कार्यक्रमलाई सफल पार्न सबै पार्टी पंक्तीलाई एकताबद्ध भई जुट्न आह्वान समेत गरेका हुन।
नेकपा एमाले पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला कमिटीका पदाधिकारी, सचिवालय सदस्यहरू तथा सक्रिय नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया