बारा जिल्लाको सिमरा क्षेत्रमा बुधबारदेखि चर्किएको विवाद र तनावपूर्ण स्थितिलाई साम्य पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू छलफलमा जुटेका छन्।
जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षबीचको वार्ता पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा हुँदैछ।
यसअघि जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीहरूलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो, तर जेन–जी समूहले वार्ता सिमरा आसपास क्षेत्रमै हुनुपर्ने माग राखेका थिए। प्रजिअ मिश्रले भने, “जिल्ला सुरक्षा समिति र जेन–जी अगुवाहरूबीच हुन सक्ने आपसी असमझदारी हटाउन छलफल गर्न लागिएको हो। यसले स्थिति सामान्यीकरण गर्न सहयोग पुग्ने विश्वास छ।
छलफलमा प्रदर्शनको नेतृत्व गरिरहेका केही जेन–जी अगुवाहरू पुगेका छन ।
सिमरामा विवाद बुधबार एमाले नेता–कार्यकर्ताले जेन–जी युवालाई कुटपिट गरेपछि बढेको थियो। जेन–जी युवाहरूले कर्फ्यू आदेशको अवज्ञा गर्दै वीरगन्ज –पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन जारी राखेका थिए।

प्रतिक्रिया