काठमाडौँ- सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको वित्तीय स्वास्थ्यमा पहिलो त्रैमासिकमै ठूलो धक्का लागेको छ ।
आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको कुल आय, नाफा र प्रतिशेयर आम्दानी सबै सूचकमा उल्लेख्य गिरावट आएको छ । विशेषगरी, विश्वव्यापी रूपमा बढ्दो ओटीटी सेवाको प्रयोगले अन्तर्राष्ट्रिय कलबाट प्राप्त हुने राजस्व घट्नु, बैंकिङ क्षेत्रमा ब्याजदर घट्दा निक्षेपबाट हुने आम्दानीमा कमी आउनु र कर्मचारी व्यवस्थापन खर्च बढ्नुलाई कम्पनीले आय घट्नुको मुख्य कारण बताएको छ । यस त्रैमासिकमा कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ करोड ४४ लाख रुपैयाँले घटेर १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मा सीमित भएको छ ।
टेलिकमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा कम्पनीको कुल आय ५९ करोड २६ लाख रुपैयाँले घटेर ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ मा झरेको छ। राजस्वमा आएको यस गिरावटका कारण करअघिको नाफा समेत १८.९ प्रतिशतले खुम्चिएर २ अर्ब ८८ करोड रुपैयाँ मा सीमित भएको छ। घट्दो नाफाको प्रत्यक्ष असर शेयरधनीहरूलाई परेको छ, जहाँ प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसा मा पुगेको छ। कम्पनीका अनुसार ओटीटीको प्रभावले अन्तर/आवद्धता राजस्व मात्रै करिब १० करोड ९७ लाख रुपैयाँले कम भएको छ भने ब्याजदर घट्दा मुद्दती निक्षेपबाट आउने आम्दानीमा ५० करोड रुपैयाँसम्मको घाटा परेको छ ।
साथै, कर्मचारी बीमा तथा पेन्सन सम्बन्धी दायित्वका कारण कर्मचारी खर्चमा पनि करिब ८।८ करोड रुपैयाँ अतिरिक्त भार थपिएको छ । राष्ट्रिय सेवा प्रदायकको नाताले दुर्गम क्षेत्रमा सेवा विस्तारमा गरिएको निरन्तर लगानीका कारण उच्च सञ्चालन लागत पनि कायम रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया