पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ ।
अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी रह्यो ।
प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन् । धेरैले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन् ।
राजधानी रबातदेखि व्यापारिक सहर कासाब्लान्कासम्म ठूलो सङ्ख्यामा युवाहरू सडकमा उत्रिएका छन् ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि केही ठाउँमा हिंसात्मक घटनामा परिणत भएका छन् । बुधबार मात्रै, बैंकहरू लुटिएका, कारहरू जलाइएका र सार्वजनिक सम्पत्ति नष्ट गरिएका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो ।
मोरक्कोमा राजा मोहम्मद छैटौँ सर्वोच्च शासक भए पनि प्रदर्शनकारीहरूको असन्तोष प्रायः सरकारतर्फ नै केन्द्रित हुँदै आएको छ । बिहीबारको प्रदर्शनमा सहभागी सयौँ युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकारलाई हटाऊ’ भन्ने नारा लगाउँदै राजालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया