बिहार विधानसभा चुनाव २०२५ नजिकिँदै गर्दा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले शुक्रबार बिहान पटनामा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। गठबन्धनका सबै शीर्ष नेताहरूको उपस्थितिमा आयोजित कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय गृहमन्त्री अमित शाहले घोषणापत्र जारी गरेका हुन्।
घोषणापत्रमा युवा, महिला र पिछडिएका वर्गका लागि महत्वाकांक्षी योजना समेटिएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार एनडीएले आगामी पाँच वर्षमा १ करोडभन्दा बढी सरकारी रोजगारी सिर्जना गर्ने प्रतिज्ञा गरेको छ। साथै, प्रत्येक जिल्लामा ‘मेगा सीप केन्द्र’ स्थापना गरेर युवालाई सीपमूलक तालिम दिने र तालिमपछि रोजगारका अवसरका लागि विश्वभर पठाउने योजना प्रस्तुत गरिएको छ।
महिलाको आर्थिक सशक्तीकरणका लागि घोषणापत्रमा २ लाख रुपैयाँसम्मको आर्थिक सहयोग, ‘लखपति दिदी’ योजना अन्तर्गत १ करोड महिलालाई आत्मनिर्भर बनाउने र ‘मिसन करोडपति’ अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।
त्यस्तै, अति पिछडिएका वर्ग (ओबीसी) का लागि १० लाख रुपैयाँसम्मको आर्थिक सहायता, अत्यन्त पिछडिएका वर्गका लागि विशेष समिति गठन, र किसानका लागि न्यूनतम समर्थन मूल्य (MSP) मा कानूनी ग्यारेन्टीको वाचा गरिएको छ।
बिहारमा २४३ सिटका लागि नोभेम्बर ६ र ११ मा दुई चरणमा मतदान हुने र नतिजा नोभेम्बर १४ मा सार्वजनिक हुने बताइएको छ। एनडीएमा भारतीय जनता पार्टी, जनता दल (संयुक्त), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) र राष्ट्रिय लोक मोर्चा समावेश छन्।
यसअघि विपक्षी महागठबन्धनले ‘बिहार का तेजस्वी प्राण’ शीर्षकमा आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सरकार बनेपछि २० दिनभित्र प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने र महिलालाई प्रति महिना २,५०० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने वाचा गरेको थियो।
बिहारमा राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएका बेला एनडीए र महागठबन्धनबीच घोषणापत्रमै जनताको मन जित्ने दौड सुरु भएको छ।

प्रतिक्रिया