पर्सा- निवर्तमान खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी ९जसपा० का सम्पूर्ण नेता, कार्यकर्ता र संरचनालाई जनताको सुरक्षालाई प्राथमिकतामा राखी विपद् व्यवस्थापनमा सक्रिय हुन हार्दिक आह्वान गरेका छन् ।
जसपाका उपमहासचिव समेत रहेका यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै स्थानीय पार्टी कमिटीहरूलाई सरकारी निकायहरूसँग समन्वय गरी जोखिममा परेका नागरिकहरूको उद्धार, राहत र संरक्षणमा अग्रपङ्क्तिमा रहन अनुरोध गरेका छन् ।
“यस कठिन घडीमा प्रत्येक जिम्मेवार नागरिक, विशेषतः जसपा परिवारका सदस्यहरू एकताबद्ध भई ‘सहयोग, सद्भाव र सशक्त उपस्थिति’ को हाम्रो पहिचानलाई व्यवहारमा उतारौँ,” यादवले आफ्नो अपिलमा भनेका छन् ।
उनले सङ्कटमा परेका नागरिकहरूलाई तत्काल सहयोग पुगोस् भन्ने कामनासहित विपद् व्यवस्थापनमा पूर्ण सतर्कता र सक्रियताका लागि सबैलाई तयार रहन आग्रह गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पर्सालगायतका क्षेत्रमा थप वर्षाको सम्भावना रहेको र जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ । महाशाखाले अगामी ३० घण्टासम्म नेपालमा मनसुन सक्रिय रहने जनाएको छ । महाशाखाका अनुसार पर्सा जिल्लामा सबैभन्दा बढी वर्षा भएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई उच्च बनाएको छ ।
प्रतिक्रिया