जेनजी समूहको आन्दोलनका क्रममा विभिन्न जिल्लाबाट फरार रहेका नौजना कैदीबन्दीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा जबरजस्तीकरणी मुद्दादेखि कर्तव्य ज्यान, लागुऔषध, सवारी अंगभंग, डाकाचोरी उद्योगका ११ वर्ष कैद र ५५ हजार जरिवानासम्मका कैदीबन्दी रहेका छन् ।
जिल्ला प्रहरीक कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार जबरजस्तीकरणी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भुक्तान गरिहेका चौदण्डिगढी नगरपालिका ४ का ६४ वर्षीय ज्ञानबहादुर सार्की र कर्तव्य ज्यान मुद्दाका बन्दी लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका ७२ वर्षीय सन्तबहादुर राई पक्राउ परेका छन् ।
त्यसैगरी नख्खु कारागार ललितपुरमा डाकाचोरी मुद्दामा ५५ हजार जरिवार र ५ वर्ष ६ महिना कैद सजाए तोकिएका त्रियुगा नगरपालिका ६ जलजलेका २८ वर्षीय सन्जिव दर्जी र जबरजस्तीकरणी मुद्दाका बन्दी त्रियुगा नपा १ जोगिदहका ३१ वर्षीय दिलिप कार्की रहेका छन् ।
त्यस्तै झुम्का कारागार सुनसरीमा जवरजस्ती करणी मुद्दामा नौ वर्ष १० महिना आठ दिन सजाए तोकिएका सुनसरी धरान उपमहानगरपालिका ८ का ३२ वर्षीय प्रविण सुन्दास, सोही मुद्दाका बन्दी बेलका नपा ३ का ४० वर्षीय योगेन्द्र राई, अर्का बन्दी चौदण्डीगढी नपा १ काभ्रेका ३७ वर्षीय धनबहादुर राई र लागुऔषध मुद्दाका बन्दी बेलका नपा ९ कमलावारीका २८ वर्षीय नरेश विक रहेको एसपी चापागाईले बताए ।
यसैगरी जिल्ला कारागार बैतडीमा सवारी अंगभंग मुद्दाका बन्दी रौतामाई गाउँपालिका ८ का २४ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन् । फरार कैदीबन्दीलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले गत भदौ २९ गतेदेखि असोज २१ गतेसम्म उनीहरुलाई लुकिछिपी आफ्नो र आफन्तको घरमा बस्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी चापागाईले बताए ।
पक्राउ परेका सबैलाई कानुनी प्रकृया पुरा गरी सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको उनले बताए । मौसम प्रतिकुलका कारण सडक अवरुद्ध हुँदा समयमा पठाउन नसकिएको र सडक सुचारु हुनसाथ सम्बन्धित कारागारलाई बुझाइने उनले बताए ।
प्रतिक्रिया