विराटनगरबाट भारतीय नक्कली नोटसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद राजालाई साँझ ६:३० बजेतिर विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कबाट पक्राउ गरिएको हो ।
उनीहरु भारतको जोगवनीबाट सीटी सफारी चढेर आएका विराटनगर आएको प्रहरीले जनाएको छ । विराटनगर बसपार्कमा ओर्लिएपछि अरवाजले सफारी चालकलाई भारतीय २ सय रूपैयाँको नोट दिएका थिए । सफारी चालकले नोट नक्कलीजस्तो लागेर प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट २ सय दरका १८ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।
नक्कली भारतीय नोट नेपाल भित्राउने गिरोहसँग सम्बन्धित हुन सक्ने प्रहरीको आशंका छ । अनुसन्धान जारी रहेका दुवै जनामाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया