पर्साको छिपहरमाई गाउँपालिका – ३ जयमंगलापुरस्थित झलमहिया र भिस्वा जोड्ने सडकको पुलमुनि शुक्रवार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मृतकको पहिचान झलमहिया गाउँका २८ वर्षीय रमेश साह कानुको रूपमा भएको छ । वडा कार्यालयबाट करिब १०० मिटर पश्चिममा रहेको उक्त पुलमुनिको पानीमा भारतीय नम्बर प्लेट (वीर आर २२ ए एल १२७३) भएको होन्डा साइन मोटरसाइकलसहित रमेश मृत भेटिएका हुन् । प्रहरीले घटनास्थलको प्रकृति र शवको अवस्था हेर्दा मोटरसाइकलसहित पुलबाट खसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । यद्यपि, मृत्युको यकिन कारण अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानले मृत्युको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको उनले बताए । घटनाले स्थानीय क्षेत्रमा त्रास र कौतुहलता उत्पन्न भएको छ । प्रहरीले थप विवरण सार्वजनिक हुने क्रममा रहेको जनाएको छ ।
प्रतिक्रिया