पर्सा- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले काठमाडौंका मेयर बालेन साह र “हामी नेपाल” पार्टीका संयोजक सुदन गुरुङ्गविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार उजुरी दिएको छ।
उजुरी जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिपराज पाठकलाई प्रदान गरिएको हो। , केन्द्रिय सर्कुलरको अनुसार गर्दै सोमबार मधेश प्रदेशका आठवटै जिल्लामा उजुरी दिइएको युवा संघ पर्साका अध्यक्ष सुवास साहले बताए ।
साहले भदौ २४ गते भएको जेन्जी आन्दोलनको नाममा राष्ट्रिय सम्पत्तिमा गरिएको तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी तथा तोडफोडमा काठमाडौंका मेयर बालेन साह र “हामी नेपाल” संयोजक सुदन गुरुङ्गको संलग्नता रहेको दावी गर्दै उजुरी दिएको बताए । युवा संघले उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न प्रहरी प्रशासनसँग अनुरोध समेत गरेको छ ।
उजुरी बुझाउनु अघि युवा संघले मोटरसाइकल रयाली पनि निकालेको थियो। वीरगंजस्थित जिल्ला समन्वय समितिको प्रांगणबाट सुरु भएको रयाली नगर परिक्रमा गर्दै लाल बंगला पुगेर समापन भएको थियो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, वीरगंज महानगर ईन्चार्ज बिचारी यादव, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, एमालेका नेता जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्ता, पर्सा सचिव राकेश महतो,युवा नेता सुजित गिरी लगायत सयौं युवा नेता तथा कार्यकर्ताहरू उपस्थित थियो ।
उजुरी बुझ्दै एसपी पाठकले कानुन अनुसार प्रक्रिया अघि बढाइने बताए ।
प्रतिक्रिया