वीरगंज –
घटस्थापनासँगै वीरगंजको ऐतिहासिक गहवामाई मेला सुरु भएको छ। मेलाको पहिलो दिनदेखि नै घण्टाघर चौकदेखि महाबीरस्थानसम्मका सडक पेटीमा विशेषगरी जेरीको बिक्री बढेको छ। सडकका दुवै किनारमा बिक्रीका लागि राखिएका जेरीसँगै विभिन्न खाद्य सामग्रीको पनि अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका खाद्य निरीक्षण अधिकारी सोनु साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, वीरगंज महानगरपालिकाका प्रतिनिधि विभा मिश्र र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दाससहितको टोलीले बुधबार दिउँसो २२ वटा मिठाई पसलको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा ७ वटा मिठाई पसलमा प्रयोग भएको तेल गुणस्तरहीन पाइएको छ भने ५ वटा पसलमा फुड कलर गुणस्तरहीन भेटिएको छ। अनुगमनमा सहभागी अजित भुजेलका अनुसार, गुणस्तरहीन तेल र फुड कलर प्रयोग गरेका पसलका सामग्री नष्ट गराइ चेतावनी दिइएको छ।
खाद्य निरीक्षण अधिकारी सोनु साहले मेलामा बिक्री भईरहेका खाद्य पदार्थहरू खान योग्य छन् कि छैनन् भनेर जाँच गरिएको हो। चाडपर्व लक्षित अनुगमन भइरहेको छ र यो दशैंसम्म निरन्तर जारी रहने साहले भने । गुणस्तरहीन देखिएका पसलका सामग्री नष्ट गराइ संचालकलाई सचेत गराइएको छ।


प्रतिक्रिया