वीरगञ्ज : भारतको जम्मु कश्मीर राज्यको रियासी जिल्लामा अवस्थित माता वैष्णो देवीको दर्शन गर्न गएका एक नेपालीको हृदयाघातका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ निवासी ४६ वर्षीय सञ्जय साह तुरहा रहेका छन् ।
नेपाल तुरहा कल्याण समिति पर्सा शाखाका अनुसार, तुरहा शुक्रवार माता वैष्णो देवीको मन्दिरतर्फ सिँढी चढ्ने क्रममा हृदयाघातका कारण असामयिक निधन भएको हो । नेपालबाट धार्मिक यात्राका लागि वैष्णो धाम पुगेका उनको मृत्युले परिवार र समुदायमा गहिरो शोक छाएको छ ।
नेपाल तुरहा कल्याण समिति पर्सा शाखाले तुरहाको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
पारिवारिक स्रोतका अनुसार, तुरहाको शव लिन आफन्तहरू जम्मु कश्मीर पुगेका छन् र उनको शव आज (आइतबार) नेपाल ल्याइने तयारी छ ।
घटनाले धार्मिक यात्रामा जाने तीर्थयात्रीहरूका लागि स्वास्थ्य सावधानीको महत्त्वलाई पुनः उजागर गरेको छ ।
प्रतिक्रिया